जनता टाइम्स

१६ चैत्र २०८०, शुक्रबार १२:१९

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री


काठमाडौं, १६ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सवलीकरण भएको बताउनुभएको छ ।

महिला उद्यमी महासङ्घद्वारा आयोजित सातौँ अन्तर्राष्ट्रिय महिला व्यापार मेलाको शुक्रबार बिहान ललितपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताउनुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो,’विगतको तुलनामा नेपाली महिलाको अवस्था क्रमशः सुदृढ हुँदै गएको छ । तर आधा धर्तीका मालिक महिलाको यही प्रगतिमा सन्तुष्ट हुन भने सकिन्नँ । त्यसैले महिला सशक्तिकरणका लागि सबैको हातेमालो आवश्यक छ । त्यसैले आजको दुनियामा महिला सशक्तीकरणका लागि सबैभन्दा पहिले आर्थिक पहुँच दरिलो हुनैपर्छ ।’

सशक्तिकरणको सवाल आजको दुनियाँमा शक्तिसँग जोडिएकोमा प्रधानमन्त्रीको भनाइ छ । उहाँले अगाडी भन्नुभयो,’सशक्तीकरण आजको दुनियामा शक्तिसँग जोडिएको छ । शक्ति अर्थसँग जोडिएको छ । आर्थिकरूपमा सशक्त नभई साँचो सशक्तिकरण हुन सक्दैन । यसलाई सरकारले उच्च प्राथमिकता दिएको छ ।’ सो अवसरमा प्रधानमन्त्रीले महिलाहरूद्वारा सञ्चालित उद्योग र व्यवसायहरूमा करछूट र सहुलियतका कार्यक्रमहरू सञ्चालन गरिएको जानकारी दिँदै भविष्यमा त्यसलाई बढाउँदै लगिनेसमेत बताउनुभएको छ ।

‘महिला उद्यमशीलता विकासको माध्यमबाट नेपाली महिलाको सामाजिक तथा आर्थिक सशक्तीकरण गरी राष्ट्र निर्माणमा सहयोग गर्ने परिकल्पनालाई सार्थक तुल्याउन महिला उद्यमी कोष स्थापना गर्ने कुरा महत्वपूर्ण छ । सरकारले महिला उद्यमीको नेतृत्वमा सञ्चालन भइरहेका उद्योगहरूलाई प्रबद्र्धन गर्न कर छूटदेखि अन्य सहुलियतपूर्ण प्रबन्धहरू गरेको छ, आगामी दिनमा त्यसलाई बढाउँदै लगिने छ,’ प्रधानमन्त्रीले भन्नुभयो ।