जनता टाइम्स

१६ चैत्र २०८०, शुक्रबार १३:४०

महिलालाई सिप र आर्थिक सशक्तीकरण गर्नु अहिलेको आवश्यकता : मन्त्री चौधरी


काठमाडौं, चैत १६ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले महिलाहरू आर्थिक, सामाजिक र राजनीतिक हिसाबले अहिले पनि पछाडि पारिएका बताउनु भएको छ । काठमाडौैंमा आज आयोजित कार्यक्रममा बोल्दै मन्त्री चौधरीले यस्तो बताउनु भएको हो ।

उहाँले महिलालाई सिप र आर्थिक सशक्तीकरण गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो । यसको लागि मन्त्रालयले काम गरिरहेको चौधरीले जानकारी दिनुभयो । हरेक मन्त्रालयको बजेट लैङ्गिकमैत्री छ कि छैन भन्ने विषयमा अध्ययन गरेर प्रभाकारी बजेट बनाउन पहल गर्ने उहाँले जानकारी दिनुभयो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा अति न्यून बजेट रहेको बताउँदै चौधरीले अन्य मन्त्रालयको बजेट पनि लैङ्गिकमैत्री बन्नु पर्नेमा जोड दिनुभयो। महिलाको लागि छुट्याएको बजेट पनि अन्यत्र प्रयोग हुने गरेको बताउँदै चौधरीले महिलाको लागि आएको बजेट महिलामा नै लगानी हुनुपर्ने बताउनु भयो ।