जनता टाइम्स

१६ चैत्र २०८०, शुक्रबार २१:०४

एमाले सिन्धुपाल्चोकको अधिवेशन सुरु, अध्यक्षमा दुई जना दावेदार


सिन्धुपाल्चोक, चैत १६ । नेकपा एमाले सिन्धुपाल्चोकको १०औं जिल्ला अधिवेशन आजदेखि चौतारामा सुरु भएको छ ।

अधिवेशनको उदघाटन एमाले केन्द्रीय अनुशासन आयोगका पूर्वअध्यक्ष अमृतकुमार बोहराले गर्नुभयो । एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उदघाटन गर्ने कार्यक्रम तय भएको भनिए पनि उहाँ नआउनु भएपछि बोहोराले उदघाटन गर्नुभएको हो ।

अधिवेशन उदघाटन समारोहमा एमाले स्थायी कमिटी सदस्य एवं बागमती इञ्चार्ज गुरु बराल, शेरबहादुर तामाङ, पोलिटब्यूरो सदस्य एवम जिल्ला इञ्चार्ज गोकुल बास्कोटा, बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुगेल लगायतका नेताहरुले आफ्नो धारणा राख्नुभयो । सो क्रमा नेताहरुले पार्टीले लिएको मिसन ०८४ सफल गराउन सबै नेता कार्यकर्ताहरु एक भएर लाग्नुपर्नेमा जोड दिनुभएको छ ।

अधिवेशनमा गाउँ गाउँबाट हजारौ कार्यकर्ताहरु सहभागी भएका थिए । ओली सहभागी हुने भनेपनि नआएपछि गाउँबाट आएका सहभागीहरुले खल्लो अनुभव गरेका छन । एमाले सिन्धुपाल्चोकको १० औ जिल्ला अधिवेशनको बन्द सत्र शनिवार बिहानबाट सुरु हुने एमाले जिल्ला अध्यक्ष कमल नेपालले जानकारी दिनुभयो । बन्द सत्रको सबै तयारी पूरा भएको नेपालको भनाई छ ।

बन्द सत्रमा १२ पालिकाभित्रका १०३ वडा, जनवर्गीय संगठन, मनोनीतसहित अधिवेशनमा ७४७ प्रतिनिधिहरु सहभागी हुने अध्यक्ष नेपालले जानकारी दिनुभयो । बन्द सत्रमा सांगठानिक, राजनीतिक, आर्थिक लगायत सिन्धुपाल्चोक समृद्धीको खाका पनि पेश हुनेछ ।

प्रतिवेदनहरु पास भएपछि नेतृत्व चयनको कार्य सुरु हुनेछ । सर्वसम्मतको प्रयास हुने र नभए निर्वाचन प्रक्रियामा जाने नेताहरुले बताएका छन । अधिवेशनमा अध्यक्षमा दुइ जना बिच प्रतिष्पर्धा हुने निश्चित भएको छ । वर्तमान अध्यक्ष कमल नेपाल र एमाले नेता होमनारयण श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको हो ।

अध्यक्षका आकांक्षी दुई जना रहेको र इञ्चार्ज गोकुल बास्कोटा पनि चुनावबाटै नेतृत्व चयन गर्ने मनस्थितिमा रहेकोले निर्वाचन निश्चित जस्तै देखिएको हो ।