जनता टाइम्स

१८ चैत्र २०८०, आईतवार ०८:२१

कागारभित्रै मरे कि मारिए न्यायधीश राई ?


सुनसरी, चैत १८ । सुनसरीको झुम्का कारागारभित्र एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ४२ वर्षीय न्यायधीश राई रहेको प्रहरीले जनाएको छ।

पत्नी हत्याको आरोपमा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका खोटाङका साकला गाउँपालिका घर भई हाल इटहरी उपमहानगरपालिका–४ मा डेरा गरी बस्दै आएका राईको करागारभित्रै मृत्यु भएको हो।

कारागारभित्रै कुटेर हत्या गरेको राईका आफन्तले आरोप लगाएका छन्। कारागारमा भाईको हत्या भएको दाबी गर्दै घटनाको छानबिन गर्नुपर्ने मृत्तक न्यायधीशका दाई सुभाष राईले माग गर्नुभएको छ । न्यायधीशको शरीरभरि निलडाम रहेको, कान सुनिएको र चोट देखिएकाले कारागारभित्रै कुटेर हत्या गरेको मृतकका भाउजु उर्मिला राईले बताउनु भयो ।

झुम्का कारागारका प्रमुख धुव्रराज कोइराला भने कैदीबन्दी राईको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताउनु हुन्छ । स्वास्थ्यमा समस्या रहेकाले उपचारका लागि जिल्ला अस्पताल सुनसरीमा भर्ना गरेको र उपचारका क्रममा उनको मृत्यु भएको उहाँको भनाइ छ।

जिल्ला अस्पताल सुनसरीका प्रमुख श्रेया पङ्गेनीले राईको अस्पताल आउनुअघि नै मृत्यु भइसकेको बताउनु भयो। पीडित पक्षले न्याय र क्षतिपूर्ति नदिएसम्म शव परीक्षण गर्न नदिने र शव नबुझ्ने अडान लिएको छ। शव इनरुवा अस्पतालमा राखिएको छ।