जनता टाइम्स

१८ चैत्र २०८०, आईतवार १७:१४

हर्क सम्पाङलाई अर्थमन्त्रीले भने – तपार्ईंको अभियानमा म पनि सँगै हुनेछु


काठमाडौं, १८ चैत । अर्थमन्त्री वर्षमान पुन अनन्तले धरानबासीलाई पिउने पानीको व्यवस्था गर्न सरकार गम्भीर रहेको बताउनुभएको छ । आज बधाई दिन मन्त्रालय आउनुभएको धरानका मेयर हर्क साम्पाङ राईसँग मन्त्री पुनले धरानको खानेपानी समस्याबारे आफू जानकार रहेको बताउनुभयो । मन्त्री पुनले खानेपानीको दुःखले कतिपय सर्वसाधारण धरानबाट बसाई सरेर अन्यत्र गएकोसमेत आफूले सुनेको उल्लेख गर्नुभयो ।

सरकारले जनतालाई स्वच्छ खानेपानीको व्यवस्थापन गर्न योजना बनाएको जानकारी दिनुभयो । ‘धरान धेरै राम्रो र सुन्दर सहर हो, त्यहाँ म केही समय बसेको पनि छु’, उहाँले भन्नुभयो, ‘खानेपानी समस्याबारे जानकारी छ । यो बजेटमार्फत केही न केही समाधान खोज्ने प्रयास हुनेछ।’ मन्त्री पुनले खानेपानी आयोजनाको माग सम्बन्धित मन्त्रालयबाट आउनुपर्ने भएकाले खानेपानी तथा सरसफाई मन्त्रालयसँग पनि कुरा गर्न सुझाउनुभयो । ‘म पनि सम्बन्धित मन्त्रालयसँग कुरा गर्छु । यहाँले पनि उताबाट योजना माग गर्नुहोला’, मन्त्री पुनले भन्नुभयो, ‘म तपाईंको अभियानमा सँगै हुनेछु ।’

मेयर साम्पाङले धरानबाट करिब १५ किलोमिटर दूरीमा पर्ने चतरास्थित सप्तकोशी नदीबाट लिफ्टिङ गरी पानी ल्याउन सकिने विकल्पबारे मन्त्री पुनलाई अवगत गराउनुभयो । उक्त आयोजनाका लागि करिब ५ अर्ब बजेट आवश्यक पर्ने प्राविधिक अनुमान गरिएको उहाँको भनाइ थियो। राईले अर्थमन्त्री पुनबारे आममानिसमा सकारात्मक धारणा रहेको पाएकाले आफू योजना माग्न आएको उल्लेख गर्नुभयो । मन्त्री पुनले पनि राईको काम गर्ने शैलीको प्रशंसा गर्नुभयो ।