janatatimes

१९ चैत्र २०८०, सोमबार ०७:२४

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदै


काठमाडौं, १९ चैत्र । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदै हुनुहुन्छ । २३ फागुनमा नेपाली कांग्रेसले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन लाग्नुभएको हो। सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले २२ चैतभित्र विश्वासको मत लिनुपर्थ्यो । त्यसैले गत शुक्रबार नै मुख्यमन्त्रीको दल नेकपा माओवादी केन्द्रका सचेतक रत्नप्रसाद ढकालले जम्कट्टेलले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराउनुभएको थियो ।

११० सदस्यीय प्रदेशसभामा जम्कट्टेलले ५६ मत जुटाएमा उहाँ मुख्यमन्त्रीमा कायम रहनुहुने छ। बिहीबार नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबीच सहमति भएपछि मुख्यमन्त्रीले आवश्यक बहुमत जुटाएका छन् । बागमतीमा एमालेको २७, माओवादी केन्द्रको २१, एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको दुई सिट छ ।