जनता टाइम्स

२० चैत्र २०८०, मंगलवार ०९:४२

नागरिक उन्मुक्तिमा सत्ता बिवाद उत्कर्षमा, अध्यक्ष रञ्जिताले गरिन दुई प्रदेश अध्यक्षलाई पार्टीबाटै निश्काशन


काठमाडौं, चैत २०। नागरिक उन्मुक्ति पार्टी (नाउपा) का दुई वटा प्रदेश अध्यक्ष निश्काशनमा परेका छन । अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले गण्डकी प्रदेश अध्यक्ष राजन गुरुङ र वाग्मती प्रदेशका अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई पदमुक्त गरी पार्टीबाट निष्काशन गर्नुभएको हो ।

पार्टीका केन्द्रीय सदस्य रामलाल डगौरा थारु र रमेश विश्वकर्मामाथि सोमबार पार्टी संस्थापक केन्द्रीय सदस्यहरूको बैठक चलिरहेको अवस्थामा अभद्र व्यवहार गरी कुटपिट गरेको भन्दै दुवै जनालाई कारबाही गरिएको अध्यक्ष श्रेष्ठद्वारा जारी पत्रमा उल्लेख छ ।

अध्यक्ष रन्जिता चौधरी र संरक्षक रेशम चौधरीबीच पछिल्लो समय नयाँ सत्ता गठबन्धनमा जाने कि पुरानोमा भन्नेमा विवाद छ । रन्जिता केन्द्रमा भएको नयाँ सत्ता गठबन्धनमै सहभागी भएर प्रदेशहरूमा सरकार बनाउने अडानमा हुनुहुन्छ भने रेशम कांग्रेससँगै रहनुपर्ने अडानमा हुनुहुन्छ ।

यही विषयमा छलफल भइरहेका बेला सोमबार काठमाडौँमा आयोजित केन्द्रीय कमिटीको बैठकमै नेता कार्यकर्ताहरूबीच कुटाकुटको अवस्था सिर्जना भएको हो ।त्यसलगत्तै रन्जिताले दुई अध्यक्षलाई निश्काशन गर्नुभएको हो ।