हेटौंडा, चैत २० । नेकपा एमालेबाट थप ४ मन्त्री थपिने भएका छन ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयमा केशव पोखरेल, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयमा एकालाल श्रेष्ठ र स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठलाई मन्त्री नियुक्त गर्न लाग्नुभएको हो । एमालेबाट नियुक्त हुने मन्त्रीहरूको शपथ आजै दिउँसो ३ बजे हुने बताइएको छ ।
मन्त्री बन्न लाग्नुभएका केशव पोखरेल र प्रकाश श्रेष्ठ काठमाडौं, रामेश्वर ललितपुर र एकलाल श्रेष्ठ मकवानपुरका हुनुहुन्छ । यस्तै एमालेबाट सरकारको नेतृत्व गर्नुभएका थपलिया चितवनका हुनुहुन्छ ।
मन्त्री चयन गर्दा एमालेले यसपटक पनि आफ्नो जनाधार भएको बाग्मतिपूर्वको भूगोललाई भने अपमान गरेको छ । प्रदेश सरकारमा दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रे र भक्तपुरको भने प्रतिनिधित्व नै छुटाइएको छ । हेटौंडा राजधानी हुँदा यी जिल्लाहरु बागमति प्रदेशका दुर्गममा राखेर अधिकांश सेवा सुबिधा अन्यत्रै लैजाने गरिएको छ । यसपटक मन्त्री छनोटमा पनि बागमति पूर्वका भूगोल रित्तो बनेको हो ।
चारजनामध्ये प्रकाश श्रेष्ठ पहिलो पटक मन्त्री बन्न लाग्नुभएको हो भने अन्य तीनजना जम्कट्टेल नेतृत्वको मन्त्रिमण्डलमा पहिलो पटक मन्त्री भइसक्नु भएको हो । एमालेबाट यसअघि आर्थिक मामिला मन्त्रीको रूपमा संसदीय दलका नेता जगन्नाथ थपलियाले काम थालिसक्नु भएको छ ।
योसँगै बागमतीमा एक विना विभागीय मन्त्रीसहित १३ सदस्यीय मन्त्रीमण्डल बन्ने भएको छ । जसमा माओवादीको तर्फबाट मुख्यमन्त्रीसहित ४, एमालेबाट ५, समाजवादीवाट विना विभागीय मन्त्रीसहित ३ र हाम्रो नेपाली पार्टीबाट १ जना मन्त्री बनेका छन ।
प्रतिक्रिया दिनुहोस्