जनता टाइम्स

२० चैत्र २०८०, मंगलवार १९:५०

आधारभूत स्वास्थ्य सेवाबारे उच्च तहका कर्मचारीलाई पनि थाहा छैन : डा. बास्तोला


काठमाडौं, २० चैत । डा. अनुप बास्तोलाले राज्यले प्रदान गर्ने आधारभूत स्वास्थ्य सेवाबारे उच्च तहका कर्मचारीलाई समेत जानकारी नभएको बताउनुभएको छ । आज पत्रकारहरूसँगको अन्तरक्रियामा उपचारात्मक सेवा महाशाखाका निर्देशक बास्तोलाले उच्च तहका व्यक्तिले नै आधारभूत स्वास्थ्य सेवाबारे जानकारी लिन नसकेको बताउनुभएको हो । राज्यका उपल्ला तहका कर्मचारीले नै यसबारे जानकारी लिन नसक्दा सर्वसाधारणको अवस्था कस्तो होला भनेर अनुमान गर्न सकिने पनि उहाँले बताउनुभयो । उहाँले पत्रकार जस्ता व्यक्तिलाई पनि यसबारे प्रष्ट रूपमा जानकारी नभएको सुनाउनुभयो ।

‘राज्यले कानुनमै व्यवस्था गरेर दिएको आधारभूत सेवाको जानकारी नहुँदा अपेक्षाकृत सेवाग्राहीले सेवा लिन सकेका छैनन्’, डा. बास्तोलाले भन्नुभयो, ‘त्यसैले यसबारे आम जनताले बुझ्ने भाषामा बुझाउन अत्यन्तै जरुरी छ ।’ कतिपय अवस्थामा निःशुल्क पाउने औषधिको गुणस्तरमा शंका गर्दा पनि सेवा प्रवाह हुन नसकेको पाइएको डा. बास्तोलाले बताउनुभयो । यद्यपि निःशुल्क भनिएका सबै औषधिको गुणस्तर मापदण्ड पूरा गरेरै प्रयोग अनुमति दिइने उहाँले प्रष्ट पार्नुभयो । ‘औषधि व्यवस्था विभागले गुणस्तर मापदण्ड पूरा गरेकालाई नै अनुमति दिन्छ’, उहाँले थप्नुभयो, ‘त्यसमा शंका गर्नुपर्दैन ।’

सरकारले खोप सेवा, पोषण, परिवार नियोजन तथा मानसिक रोग लगायतका आधारभूत सेवा निःशुल्क प्रदान गर्दै आइरहेको छ । जसमा ९८ प्रकारका औषधि र १८ प्रकारका औषधिजन्य सामग्री निःशुल्क प्रदान गर्दै आइरहेको आधारभूत तथा आकस्मिक सेवा व्यवस्थापन शाखाका प्रमुख डा। उत्तम पच्याले जानकारी दिनुभयो । कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले सरकारले ल्याउने कतिपय स्वास्थ्य कार्यक्रमहरू लोकप्रिय मात्र रहेको टिप्पणी गर्नुभयो । त्यस्ता लोकप्रिय कार्यक्रमको दिगोपनामा प्रश्न खडा भएको उहाँको भनाइ छ ।

‘लोकप्रिय कार्यक्रमहरू आर्थिक पाटोको विश्लेषण नगरी आइरहेका हुन्छन् । जसका कारण दिगो रूपमा सेवा प्रवाह गर्न कठिनाइ हुने गरेको छ’, उहाँले भन्नुभयो । डा. मरासिनीले राज्यले सम्पूर्ण किसिमका आधारभूत र आकस्मिक स्वास्थ्य सेवा निःशुल्क गराउनुपर्नेमा पनि जोड दिनुभयो । ‘सबै किसिमका आधारभूत सेवा राज्यले निःशुल्क प्रदान गर्ने व्यवस्था गर्नुपर्छ । प्याकेज नै बनाएर त्यस्तो सेवा दिनुपर्छ’, उहाँले भन्नुभयो, ‘बरु रोग पत्ता लागेपछि विशेषज्ञ उपचार गराउँदा बीमाबाट व्यहोर्दा राम्रो हुन्छ ।’