janatatimes

२१ चैत्र २०८०, बुधबार ०९:२९

१ हप्तामा २८ जनामा कोरोना संक्रमण


काठमाडौं, २१ चैत्र । । मौसम परिवर्तनसँगै कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थालेका छन् । मौसम परिवर्तनसँगै व्यक्तिमा रुघाखोकी, ज्वरो, फ्लु देखिन थालेको चिकित्सकले बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार विगत १ हप्तामा २८ जनामा कोरोना संक्रमण देखिएको छ । ती संक्रमितमा सुदूरपश्चिम प्रदेशमा भारतबाट आएका रहेका छन् ।शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले कोरोना संक्रमित फाट्टफुट्ट उपचारका लागि अस्पतालमा आउने गरेको बताउनुभयो । ।‘मौसममा आएको परिवर्तनसँगै रुघाखोकी र ज्वरोका बिरामी आउने गरेका छन्,’ उनले भने, ‘तर बाहिर हल्ला गरेजस्तो कोरोना संक्रमित अस्पतालमा छैनन् ।’

निर्देशक डा. बसौलाका अनुसार अहिले ३ संक्रमितले सघन उपचार कक्ष (आईसीयू) र २ जनाले शय्यामा उपचार गराइरहेका छन् । अन्य अस्पतालमा आइसोलेसन नभएर टेकु अस्पतालमा बिरामी आउने गरेका उहाँले बताउनुभयो । मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले भारतमा पुस महिनामा कोरोना भाइरसको नयाँ भेरियन्ट जेएन–१ देखिएसँगै नेपालमा पनि कोरोनाका बिरामी देखिएका बताउनुभयो । ‘भारतमा देखिएपछि नेपालमा पनि फाट्टफुट्ट बिरामी देखिएका हुन्,’ उहाँले भन्नुभयो, ‘तर अहिले भने बाहिर हल्ला गरेजस्तो कोरोना संक्रमित छैनन् । अहिले मौसम परिवर्तनसँगै फ्लुका बिरामी देखिएका हुन् ।’
नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट जेएन–१ पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा। बुढाथोकीले कोरोना भाइरस विरुद्धको खोप नलगाएका व्यक्ति, दीर्घरोगी र ज्येष्ठ नागरिक अझै पनि जोखिममा रहेको बताए । कोरोनाबाट बच्नका लागि स्वास्थ्य सतर्कता अपनाउनुपर्नेमा उनले जोड दिए ।