पोखरा, चैत २१ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिनुभएको छ । प्रदेशसभामा विश्वासको मत लिन नसक्ने भएपछि मुख्यमन्त्री पाण्डेले आज पदबाट राजीनामा दिनुभएको हो ।
सत्ता गठबन्धनमा उलटपुलट आएपछि नेकपा माओवादी केन्द्रले फागुन २३ गते गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। मुख्यमन्त्री पाण्डलेले बिहीबार अर्थात भोलिसम्म विश्वासको मत लिनुपर्ने थियो। विश्वासको मत लिने वातावरण नभएपछि राजीनामा दिने निर्णयमा मुख्यमन्त्री पाण्डे पुग्नुभएको हो ।
पछिल्लो समय सरकार टिकाउनका लागि मुख्यमन्त्री पाण्डेले नेकपा एकीकृत समाजवादी छाडेको घोषणा गर्नुभएका सांसद राजीव गुरूङ (दिपक मनाङे)लाई भौतिक पूर्वाधार मन्त्री बनाउनु भएको थियो ।
सांसद भएपछि नेकपा एसमा प्रवेश गर्नुभएका दिपक मन्त्री बन्ने अवस्था नभएपछि सो पार्टी त्यागेको घोषणा गरी पाण्डे सरकारमा सहभागी हुनुभएको थियो । उहाँको मतले मात्रै सरकार नजोगिने भएपछि मुख्यमन्त्री पाण्डेले सवैभन्दा ठूलो दलको नेताको हैसियतमा पुनः एक महिने मुख्यमन्त्री नियुक्त हुन राजीनामा दिनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्