अध्यक्षका उम्मेदवार टिना सुवेदी पोलिटब्युरो सदस्य अच्युत मैनाली र सचिवका उम्मेदवार अमृत शर्मा बजगाईं (सुजन) कृषि मन्त्री तथा पोलिटब्यूरो सदस्य ज्वाला साहका श्रीमान हुनुहुन्छ ।
बारा, चैत २३ । नेकपा एमाले बाराको नेतृत्व छान्न मतदान सुरु भएको छ । अध्यक्षसहित पाँचजना पदाधिकारीका लागि ११ जनाको उम्मेदवारी कायम रहेपछि निर्वाचनमार्फत नेतृत्व छान्न लागिएको हो ।
जारी अधिवशेनमा अध्यक्षमा अध्यानन्द पाण्डे र टिना सुवेदीबीच प्रतिस्पर्धा भएको छ । यस्तै उपाध्यक्ष पदका लागि नारायणप्रसाद गौतम र भुलन चौधरीले उम्मेदवार कायम रहनुभएको छ । यसैगरी सचिवमा एम समिउल्लाह, अमृत शर्मा बजगाईं (सुजन) र भिखारी साह विद्रोहीले उम्मेदवारी दिनुभएको निर्वाचन अधिकृत गोकुल घोरसाइनेले जानकारी दिनुभयो ।
दुईजना उपसचिव पदका लागि खुला र महिलातर्फ गरी चारजनाको उम्मेदवारी परेको छ । जसमा जवाहिर अन्सारी र धनीराम चौधरी तथा महिलातर्फ कमला घिमिरे र भावना आचार्यले उम्मेदवारी दिनुभएको छ । एमालेको जिल्ला कमिटी पाँच पदाधिकारीसहित एक सय ३५ सदस्यीय हुनेछ । जसमध्ये अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित एक सय २५ सदस्यीय जिल्ला कमिटी चयन गर्नेछ । बाँकी दशजनालाई मनोनीत गरिने छ ।
अधिवेशनमा सहमतिमा नेतृत्व चयनका लागि भएको छलफलमा आकांक्षीले दावी नछाडेपछि केहीबेर अघिबाट मतदान सुरु भएको छ । आज दिउँसो १ बजेदेखि मतदान हुने तालिका तोकिएपछि झण्डै तीन घण्टा ढिला सुरु भएको हो । अधिवेशनमा १६ पालिकाबाट आठ सय ३० जना प्रतिनिधि मतदाता रहेका छन् । बारामा पालिकामा समेत निर्वाचनबाटै जिल्ला सदस्य चयन गर्न लागिएको छ ।
नेताहरूले सार्वजनिक अभिव्यक्तिमा सहमतिको रटान लगाए पनि भित्रभित्रै आफ्नो गुटको पक्षमा लबिङ गरेकाले मतदानबाट नयाँ नेतृत्व चयन प्रक्रिया सुरु भएको हो । अधिवेशनको उद्घाटन सत्रमा बोल्दै पार्टी वरिष्ठ अपाध्यक्ष ईश्वर पोखरेलसहितका नेताहरूले पार्टीमा कुनै पनि गुट नभएको स्पष्टीकरण दिए पनि भित्रभित्रै गुट झाँगिएको अधिवेशन स्थलमा सहभागी नेता, कार्यकर्ताहरूले प्रतिक्रिया दिएका छन् ।
बारामा एमाले पोलिटब्युरो सदस्य अच्युत मैनाली र ज्वाला साहले अध्यक्षमा टिना सुवेदीलाई उम्मेद्वार बनाउनु भएको । सुवेदी एमाले पोलिटब्युरो सदस्य अच्यूत मैनालीकी श्रीमती हुनुहुन्छ । यस्तै सचिव पदका उम्मेदवार अमृत शर्मा बजगाईं (सुजन) पोलिटब्युरो सदस्य ज्वाला साहका श्रीमान् हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्