जनता टाइम्स

२३ चैत्र २०८०, शुक्रबार २३:५३

स्वदेशी लगानीकर्तालाई लगानीको पहिलो प्राथमिकता : उद्योगमन्त्री भण्डारी


दोलखा, चैत २३ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालका पुँजी पलायन हुने खतरा रहेको औंल्याउनु भएको छ ।

स्वीटजरल्याण्ड भनेर परिचित सुन्दर हिमाली जिल्ला दोलखाको सुन्दर पर्यटकीय नगरी जिरीमा शुक्रवार दोस्रो जिरी महोत्सवको उद्घाटन समारोहमा बोल्दै मन्त्री भण्डारीले यस्तो खतरा औंल्याउनु भएको हो । उहाँले पुँजीको विदेश पलायनलाई रोक्नु पर्ने बताउनुभयो ।

उहाँले सरकारले देशको पुँजी पलायन हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘पुँजी पलायन हुने खतरा बढेको छ, त्यो रोक्न लगानीको पहिलो प्राथमिकता स्वदेशी लगानीकर्तालाई दिँदैछौँ, बाह्य लगानीकर्तालाई पनि हामीले आह्वान गरेका छौँ’, मन्त्री भण्डारीले भन्नुभयो ।

देशमा लगानीमैत्री वातावरण बनाउन सरकारले लगानी सम्मेलन गर्न लागेको भण्डारीले बताउनुभयो । मन्त्री भण्डारीले सरकार लगानी सम्मेलनको तीव्र तयारीमा जुटेको बताउनुभयो ।

लगानीमैत्री वातावरण बनाउन विद्यमान कानुन निर्माण र संशोधन गर्न सरकार लागिपरेको उहाँले जानकारी दिनुभयो । लगानीकर्ताको लगानी सुरक्षित बनाउन सरकार दृढ संकल्पका साथ कानुन निर्माण तथा संशोधन गर्न लागेको भण्डारीले बताउनुभयो ।

भण्डारीले नेपालको स्वाभिमानसँग नबाझिने गरी वैदेशिक लगानी भित्र्याइने बताउनुभयो । नेपालमा पर्यटन, ऊर्जा तथा अन्य स्वदेशी कच्चा वस्तुमा आधारित उद्योगको राम्रो सम्भावना रहेको उहाँले स्पष्ट पार्नुभयो ।

जनतामा रहेको निराशालाई चिर्न सरकार ठोस योजनाका साथ अघि बढेको उहाँले बताउनुभयो । देशमा लगानीमैत्री वातावरण निर्माण गरी रोजगारी सिर्जना गर्न आवश्यक रहेको पनि उहाँको भनाई थियो ।

कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य तथा पूर्वसञ्चारमन्त्री पार्वत गुरुङ, कांग्रेस नेता जीपछिरिङ लामा, प्रदेश सांसद भरत केसी, जिरी नगरपालिकाका मेयर मित्र जिरेललगायतका नेताहरुले समृद्ध दोलखा निर्माणकोखाका प्रस्तुत गर्दै दिल खोलेर सघाउन मन्त्री भण्डारीको ध्यानाकर्षण गराउनु भएको थियो ।

दोलखामा राजनीतिक दलबीच उच्चस्तरको सहमति र सहकार्य रहेको जनाउँ दिँदै नेताहरुले संघीय सरकारले समृद्धिको खाकामा सहयोग गर्ने बिश्वास समेत ब्यक्त गर्नुभएको छ ।