जनता टाइम्स

२५ चैत्र २०८०, आईतवार २३:२१

एमाले ललितपुरमा उम्मेदवारीको लर्काे : अध्यक्षमा ४ जना कायम रहँदा कुन पदमा को-को भए उम्मेदवार ? (सूचीसहित)


लतिलपुर, चैत २५ । नेकपा एमाले ललितपुरको अध्यक्षमा चार जनाबीच प्रतिस्पर्धा हुनेभएको छ । ललितपुरको जारी ९औं जिल्ला अधिवेशनमा अध्यक्षका लागि निवर्तमान अध्यक्षसहित ४ जनाबीच प्रतिस्पर्धा हुने भएको हो ।

लतिलपुर एमालेको नेतृत्व लिन चाहनेमा निवर्तमान अध्यक्ष पुरुषोत्तम आचार्य, बागमति प्रदेशसभाका पूर्वसांसद चेतनाथ सञ्जेल, वागमती प्रदेश कमिटीका पूर्व सदस्य दिनेश कार्की र महिला नेतृ सुवर्ण श्रेष्ठ उम्मेदवार बन्नुभएको हो । निर्वाचनका लागि सोमवार मतदान हुने कार्यक्रम तय भएको छ ।

अहिलेसम्म उम्मेदवारमध्ये पोलिब्युरो सदस्य सुशिला नेपाल र केन्द्रीय सदस्य बाबुराम थापा निवर्तमान अध्यक्ष आचार्यको पक्षमा देखिनुभएको छ भने अर्का केन्द्रीय सदस्य हरिकृष्ण व्यञ्जनकार पूर्वसांसद सञ्जेलको पक्षमा उभिनुभएको छ । सञ्जेल अघिल्लो अधिवेशनमा पनि अध्यक्षको आकांक्षी हुनुहुन्थ्यो ।

यस्तै अर्का प्रतिस्पर्धी दिनेश कार्की ललितपुर महानगरपालिका क्षेत्रका प्रभावशाली नेता हुनुहुन्छ । यस्तै महालक्ष्मी नगरपालिकामा प्रभाव पार्ने नेतृ शुबर्ण श्रेष्ठ नेपाल उद्योग ब्यवसाय महासंघका उपमहासचिव समेत हुनुहुन्छ ।

श्रेष्ठ पूर्वराष्टर्पति बिद्यादेवी भण्डारी संरक्षक रहनुभएको मदन भण्डारी स्पोर्स एकेडेमीमार्फत खेल क्षेत्रमा निकै सक्रिय हुनुहुन्छ ।  गत निर्वाचनमा श्रेष्ठलाई एमालेले प्रतिनिधिसभामा समानुतपातिकतर्फ सांसदको उम्मेदवार बनाएको थियो ।

अध्यक्षका प्रत्यासी चारै जनाले प्रतिनिधिहरुको जोडबलमा आफू उम्मेदवार बनेको कारण सहजै जित्ने दावी गरेका छन । निवर्तमान अध्यक्ष आचार्यले आफूले गरेको काम र निर्वाचनमा ललितपुर एमालेलाई दिलाएको सफलताका कारण जिल्लाका सवै नेता कार्यकर्ताले दोहोरिन भनेको कारण पुनः उम्मेदवार बनेको बताउनु भयो ।

यस्तै सञ्जेल, कार्की र श्रेष्ठले पनि प्रतिनिधिको चाहनाअनुसार आफूहरु उम्मेदवार बनेको र पार्टीका सवै नेताहरुले अघि बढन भनेको बताउनु भएको छ ।

निवर्तमान अध्यक्ष आचार्यको पक्षमा खुलेका नेताहरुले प्रतिनिधिसँगै महासचिव शंकर पोखरेलको चाहना पनि आचार्य नै अध्यक्ष होस भन्ने रहेको र आफूहरुलाई सोहीअनुसारको निर्देशन दिएको भन्दै प्रतिनिधिलाई मत मागिरहनु भएको छ । अहिलेसम्म कार्की र श्रेष्ठको पक्षमा भने कुनै नेताको नाम जोडिएको छैन ।

यस्तै उपाध्यक्षमा ४ जना, सचिवमा ६, खुल्ला उपसचिवमा ६ जना र महिला उपसचिवमा ३ जनाले उम्मेदवार कायम भएका छन । उपाध्यक्षमा अष्टबीर ब्यञ्जनकार, मञ्जली शाक्य बज्राचार्य, श्याम ब्यञ्जनकार र हरिगोबिन्द श्रेष्ठ उम्मेदवार बन्नुभएको छ । यस्तै सचिवमा रत्न महर्जन, राम राउत, लक्ष्मणप्रसाद बजगाईं, सहकुल खत्री, सुदर्शन मिश्र र हरिप्रसाद न्यौपाने उम्मेदवार बन्नुभएको छ ।

निर्वाचन कमिटीले जनाएअनुसार उपसचिव खुल्लातर्फ नानीकाजी शाक्य, प्रभाकर थापा, मनोज महर्जन, श्याम शर्मा बजगाईं, सन्दन थापामगर र साजन दर्लामी (राजकुमार) उम्मेदवार बन्नुभएको छ । यस्तै उपसचिव महिलातर्फ अन्नपुर्ण बस्नेत, आशा राई, संगीता अछामी र सुकुमाया लामा उम्मेदवार कायम रहनुभएको छ ।

कुल १२० पदका लागि निर्वाचन हुने अधिवेशनमा विभिन्न १५ क्लस्टरमा अधिक संख्याको जिल्ला सदस्यको मनोनयन दर्ता भएपनि मनोनयन फिर्ता लिइ सहमति गराइएको थियो । तर अध्यक्षसहित अन्य पदाधिकारीमा सहमति जुटाउन नसकेको नेताहरुले जनाएका छन । अधिवेशनमा कुल ४७६ प्रतिनिधि मतदाता रहेका छन ।