janatatimes

२६ चैत्र २०८०, सोमबार ०७:१५

आज घोडेजात्रा : काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा


काठमाडौं, २६ चैत्र । आज घोडेजात्रा पर्व मनाईंदैछ । हरेक वर्ष चैत कृष्ण औँसीका दिन विभिन्न कार्यक्रम गरी घोडेजात्रा पर्व मनाउने गरिन्छ । यो पर्व विशेषगरी काठमाण्डौ उपत्यकामा मनाउने चलन छ । धेरै वर्ष पहिले टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई दुःख दिने गरेको र विभिन्न उपायले त्यसलाई संहार गरिएको जनविश्वास छ ।

घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको विश्वासमा टुँडिखेलमा घोडा दौडाउने गरिन्छ । नेपाली सेनाले आज टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गर्दैछ ।

आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ । घोडेजात्राको अवसरमा सरकारले आज काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।