जनता टाइम्स

२६ चैत्र २०८०, सोमबार ११:५३

कांग्रेस सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको अडानमा कायम


काठमाडौं, २६ चैत । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको अडान कायम राखेको छ । आज सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको शीर्ष नेताको बैठकले सहकारी ठगीमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको अडान कायम राख्ने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभएको छ ।

साथै कांग्रेसले मंगलबार संसदीय कार्यसमिति र संसदीय दलको बैठक बसेर थप निर्णय गर्ने समेत उहाँले जानकारी दिनुभयो । कांग्रेसले संसदीय छानबिन समितिको माग गर्दै अब बस्ने संसद बैठक अवरुद्ध गर्ने चेतावनी दिएको छ । संसदको अर्को बैठक मंगलबार बिहान ११ बजेका लागि बोलाइएको छ । यसैबीच कांग्रेसको चेतावनीपछि सभामुख देवराज घिमिरेले आजै प्रधानमन्त्रीसहित शिर्ष चार दलका नेताहरुसँग छलफल गर्दै हुनुहुन्छ ।