जनता टाइम्स

२६ चैत्र २०८०, सोमबार १९:२२

बरिष्ठ पत्रकार बिन्दुकान्त घिमिरे शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत


काठमाडौं, चैत २६ । नेपाल पत्रकार महासंघ सौर्य दैनिक प्रतिष्ठान शाखाले यस बर्षको ‘शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार’ बरिष्ठ पत्रकार बिन्दुकान्त घिमिरेलाई प्रदान गरेको छ । शाखाको आज भएको तेस्रो अधिवेशनको क्रममा पत्रकार घिमिरेलाई पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रममा सौर्य दैनिकका प्रधान सम्पदक बरिष्ठ पत्रकार बोधराज त्रिपाठी, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत र नेपाल पत्रकार महासंघ प्रतिष्ठान शाखाका अध्यक्ष बालकृष्ण अधिकारीले पत्रकार घिमिरेलाई प्रमाणपत्रसहित पुरस्कार रकमको चेक हस्तान्तरण गर्नुभयो ।

पत्रकार घिमिरे सौर्य दैनिकमै कार्यरत रहनुभएको छ । उहाँ स्वर्गीय कार्कीका सहकर्मीसमेत हुनुहुन्छ । शाखाका अध्यक्ष इश्वरी काफ्लेले दिनुभएको जानकारी अनुसार शान्तिराम कार्की स्मृति पुरस्कारको राशी २० हजार रुपैया रहेको छ । सौर्य दैनिकमै कार्यरत रहेको बेला २०७८ जेठ १ गते कोरोना संक्रमणमा परी मनमोहन अस्पतालमा पत्रकार कार्कीको निधन भएको थियो ।

प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यसमेत रहनुभएका पत्रकार कार्की पत्रिकामा कार्यरत रहँदा ज्यान गुमाएको र पत्रकारितामा निकै अब्बल रहेको ठहर गरी नेपाल पत्रकार महासंघ सौर्य शाखाले गत बर्षबाट हरेक बर्ष एक जना पत्रकारलाई प्रदान गर्ने गरी पुरस्कार स्थापना गरेको हो ।

सो पुरस्कारको स्थापना गर्न प्रधान सम्पादक त्रिपाठीले नै भूमिका निर्वाह गर्नुभएको थियो । आज आयोजित कार्यक्रममा अध्यक्ष काफ्लेले आगामी बर्षदेखि सौर्य दैनिकको बार्षिकोत्सककै दिन शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार बितरण गरिने जानकारी दिनुभयो । उहाँले एउटा श्रमजीवि सहकर्मीको योगदानलाई सदैव पत्रकारमाझ स्मरण गर्नका लागि पुरस्कार स्थापना गरिएको जानकारी पनि दिनुभयो ।

कार्यक्रममा प्रधान सम्पादक त्रिपाठी, प्रेस चौतारीका अध्यक्ष बस्नेत र पत्रकार महासंघ प्रतिष्ठानका अध्यक्ष अधिकारीले पत्रकार कार्कीलाई गुमाउदाको पीडालाई पुरस्कार स्थापनाले केही कदसम्म भए पनि मल्हम लगाउने काम गरेको बताउनु भयो ।

उहाँहरुले कार्की प्रतिवद्ध र लेखनमा अब्बल पत्रकार रहेको कारण उहाँको नाममा स्थापित पुरस्कार लेखनमा अब्बल ब्यक्तिलाई मात्र प्रदान गर्न शाखालाई सुझावसमेत दिनुभएको छ । पत्रकार कार्की जनताटाइम्स डटकमका संस्थापक सम्पादक हुनुहुन्थ्यो ।