जनता टाइम्स

२७ चैत्र २०८०, मंगलवार ०९:४०

कर्णालीको मुख्यमन्त्रीमा दावी पेश गर्दै एमाले नेता कँडेल


सुर्खेत, चैत २७। कर्णाली प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दिएको म्याद आज सकिदैछ । सत्ता गठबन्धनबाट एमाले संसदीय दलका नेता यमलाल कँडेलले मुख्यमन्त्रीका लागि दाबी पेश गर्न लाग्नुभएको छ ।

तत्कालीन मुख्यमन्त्री राजकुमार शर्माले चैत २१ गते राजीनामा दिएपछि प्रदेश प्रमुख तिलक परियारले दुई वा दुईभन्दा बढी दलको समर्थनमा मंगलबार साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गर्नुभएको थियो ।

पहिले नै कँडेललाई मुख्यमन्त्री बनाउन गठबन्धनमा सहमति भइसकेको छ । एमाले संसदीय दलका नेता कँडेलले माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्दैछन् ।

४० सदस्यीय प्रदेश सभामा नयाँ सरकार गठनका लागि २१ जना प्रदेश सभा सदस्यको समर्थन चाहिन्छ । प्रदेशसभामा एमालेका १०, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका एक सांसद रहेका छन् । त्यस्तै, नेपाली कांग्रेसका १४, राप्रपा र स्वतन्त्रबाट १-१ जना सांसद छन् ।