जनता टाइम्स

२७ चैत्र २०८०, मंगलवार २३:४८

दुःखद खवर, डोल्पामा आगो निभाउने क्रममा घाइते भएका ३ सैनिकको मृत्यू


काठमाडौं, चैत २७ । डोल्पा दुनैको ठुलीभेरी नगरपालिका–४ तिप्लामष्टामा लागेको डढेलो नियन्त्रणको क्रममा घाइते भएका तीन जना सैनिकको मृत्यू भएको छ ।

डोल्पाको भवानी सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा जलेर घाइते भएका चार जनामध्ये तीन जनाको मृत्यू भएको सैनिक मुख्यालयले जनाएको छ । आगलागी नियन्त्रणका लागि गएकामध्ये घाइते भएका जुम्लाको तातोपानी गाउँपालिका–४ स्थायी घर भई देवीदत्त गुल्म दुनैमा कार्यरत २८ वर्षीय हेमन्त रावत सोमबार ज्यान गएको थियो ।

सोही गुल्ममा कार्यरत काभ्रेका ३८ वर्षीय जमदार केशवबहादुर मगर र हुम्लाका २३ वर्षीय आशिष बुढाको मंगलबार कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

सोमबार देवीदत्त गुल्ममा कार्यरत नेपाली सेनाका १६ जनाको टिम आगो निभाउन गएको थियो । आगो निभाउने क्रममा उनीहरू घाइते भएका हुन् । घाइते एक जनाको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।