जनता टाइम्स

२९ चैत्र २०८०, बिहीबार १८:३३

प्रेससँग कर्णालीका मुख्यमन्त्री कँडेलको अपेक्षा : बिना हिच्कचाहट गलतलाई गलत र सहीलाई सही भनिदिए पुग्छ


सुर्खेत, चैत २९ । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यमलाल कँडेलले मन्त्रिपरिषदले छिट्टै पूर्णता पाउने बताउनु भएको छ ।

सुर्खेतको वीरेन्द्रनगरमा प्रेस चौतारी नेपाल कर्णाली प्रदेशका अगुवा पत्रकारसँगको भेटघाट तथा बधाई कार्यक्रममा मुख्यमन्त्री कँडेलले यस्तो जानकारी दिनुभएको हो ।

उहाँले सत्ता साझेदार दलहरुबीच सरकार सञ्चालनका लागि न्यूततम साझा कार्यक्रम नर्माणको आन्तरिक गृहकार्य भइरहेकोले केही समय लागे पनि मन्त्रीपरिषदले छिट्टै पूर्णता पाउने जानकारी दिनुभयो ।

कँडेलले बुधबार मात्र पदभार ग्रहण गर्नुभएको हो । मुख्यमन्त्री कँडेलले सत्ता साझेदार प्रमुख दुई दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको सिट बाँडफाँटको टुङ्गो यसअघि नै लागिसकेकाले केही प्राविधिक कारणबाट मात्र मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको प्रष्ट पार्नुभयो । उहाँले प्रदेशका सबै नागरिको अपनत्व हुने गरी सरकार योजनावद्ध ढंगले अघि बढ्न लागेको जानकारी पनि दिनुभयो ।

राज्यको चौथो अंगका रुपमा रहेको प्रेस जगतले ‘वाच डग’ भूमिका निर्वाह गर्दै सरकारलाई रचनात्मक सुझाव दिन पनि मुख्यमन्त्री कँडेलले सुझाव दिनुभएको छ । उहाँले आफू सवैको आवाज सुनेर प्रदेशका जनताको हितमा उच्चतम काम गर्न प्रयाश गर्ने भन्दै सहीलाई सही र गलतलाई बिना हिच्कचाहट गलत भनिदिन पनि प्रेसलाई आग्रह गर्नुभयो ।