जनता टाइम्स

३० चैत्र २०८०, शुक्रबार १२:५२

सुन प्रकरणमा कारबाही सिफारिस भएका डीएसपीको नयाँ वर्ष शुभकामना – बदनाम गर्नेहरूको सर्वनाश होस्


काठमाडौं, ३० चैत । सुन तस्करी जाँचबुझ आयोगले कारबाही सिफारिस गरेका केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का तत्कालीन डीएसपी रुगम कुँवरले आफूमाथि पूर्वाग्रह राखिएको दाबी गर्नुभएको छ । नयाँ वर्षको शुभकामना दिँदै उहाँले झुट्टा प्रमाण राखेर निर्दोषहरूको जिन्दगीसँग खेलिएको दाबी गर्नुभएको छ ।

फेसबुकमा उहाँले लेख्नुभएको छ,‘झुट्टा प्रमाण राखी निर्दोषहरूको जिन्दगीसँग खेल्ने, अर्काको बदनाम र बेइज्जत गर्न रमाउनेहरूको २०८१ सालमा सर्वनाश होस् !! नयाँ वर्षको पावन अवसरमा आफन्त तथा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।’ जाँचबुझ आयोगको प्रतिवेदनले सीआईबीका प्रमुख किरण बज्राचार्यसहित एक एसपी र दुई जना डीएसपीलाई कारबाही गर्न सिफारिस गरेको थियो । उनीहरूलाई सिआईबीबाट हटाइएको छ । के कारबाही गर्ने भन्ने सम्बन्धमा गृह मन्त्रालयले समिति बनाएको छ ।

सुनको अनुसन्धानमा आरोपीहरूलाई जोगाएको र उन्मुक्ति दिन खोजेको आरोप जाँचबुझ आयोगको छ । यता कारबाहीको सिफारिसमा परेका कुँवरसहितका प्रहरी अधिकारीहरू भने आफूहरूले कुनै गल्ती नगरेको दाबी गरिरहेका छन् । सरकारले सुन तस्करीको वृहत् छानबिन गर्न उच्च अदालतका पूर्व न्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा आयोग बनाएको थियो । सोही आयोगले आरोपी औँल्याएका पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ परेका थिए । उनलाई हाजिरी जमानीमा राखेर अनुसन्धान भइरहेको छ ।