जनता टाइम्स

३० चैत्र २०८०, शुक्रबार १३:१६

आमसञ्चार र सामाजिक सञ्जाल विधेयक छिट्टै पारित हुन्छ : मन्त्री शर्मा


काठमाडौं, चैत ३० । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार विधेयक र सामाजिक सञ्जाल विधेयक सङ्घीय संसदबाट छिट्टै पारित गरिने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ काठमाडौं शाखाको आज भएको १२औँ अधिवेशनका अवसरमा उहाँले सञ्चार क्षेत्रलाई व्यवस्थित, मर्यादित र समयानुकूल बनाउन ती विधेयक जरुरी रहेको उल्लेख गर्नुभयो । ती दुवै विधेयक सङ्घीय संसदमा पेश गर्ने अन्तिम तयारीमा छन् ।

सञ्चारमन्त्री शर्माले लोककल्याणकारी विज्ञापनलाई थप व्यवस्थित बनाउँदै स्वरोजगार तथा साना लगानीका सञ्चारमाध्यमलाई सहुुलियत दिन सरकार सकारात्मक रहेको बताउनुभयो । त्यस्तै उहाँले अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सरकार रहेको स्पष्ट पार्नुभयो । उहाँले न्यूनतम पारिश्रमिकलाई पनि समयानुकूल बनाउने उल्लेख गर्दै सत्य, तथ्य समाचार आए सरकारलाई सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।