जनता टाइम्स

१ बैशाख २०८१, शनिबार ०६:०२

एमाले बागलुङको अध्यक्षमा पुनः हिरा केसी निर्वाचित


बागलुङ, बैशाख १ । नेकपा एमाले बागलुङको अध्यक्षमा पुनः हिराबहादुर केसी निर्वाचित हुनुभएको छ । बागलुङ बजारमा जारी दशौं अधिवेशनबाट केसी दोस्रो कार्यकालको लागि अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो ।

शुक्रबार अध्यक्षको लागि केसी र नेकपा एमाले गण्डकी प्रदेश कमिटीका पूर्वसदस्य हरिनारायण गौतमले उम्मेदवारी दर्ता गराउनु भएको थियो । गौतमले उम्मेदवारी फिर्ता लिएपछि केसी सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

यस्तै उपाध्यक्ष र सहसचिवमा पनि सर्वसम्मत उम्मेदवारी चयन भएको छ। उपाध्यक्षमा विष्णु भुसाल सर्वसम्मत चयन हुनुभएको छ । भुसाल यसअघि जिल्ला सचिव हुनुहुन्थ्यो । यसैगरी उपसचिवमा धनबहादुर परियार र करमती पुनः चयन हुनुभएको छ । उपसचिवमा परियार र पुनको मात्रै उम्मेदवारी परेको हो।

सचिवमा तीन जनाको उम्मेदवारी परेको छ। गणेश थापा, चन्द्र गणेश पौडेल र कुमार खड्काले उम्मेदवारी दर्ता गराउनु भएको छ । सचिव र सदस्यहरूमा सहमतिको प्रयास भइरहेको अध्यक्ष मण्डलले जनाएको छ। निर्वाचन समितिले आधिकारिक रुपमा घोषणा गर्न भने बाँकी रहेको छ ।