जनता टाइम्स

२ बैशाख २०८१, आईतवार १६:३६

सुदूरपश्चिममा नाउपाकै अर्का सांसदले पनि गरे मुख्यमन्त्रीमा दाबी पेश


धनगढी, बैशाख २। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका सांसद कैलाश चौधरीले पनि दाबी पेश गर्नुभएको छ ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एक जना स्वतन्त्र सांसदको समर्थनसहित नाउपाका नेता चौधरीले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको हो ।

सुदूरपश्चिम प्रदेशसभामा एमालेका १० जना र नेकपा माओवादी केन्द्रका सभामुखसहित ११ जना सदस्य छन् । सांसद कैलाश चौधरीलाई स्वतन्त्र सांसद डा. तारा जोशीले पनि समर्थन गर्नुभएको छ । प्रदेश प्रमुख नजिर मियाले अर्को पक्षले पनि मुख्यमन्त्रीमा दाबी पेश गरेकाले कानुनी परामर्शपछि निर्णय गर्ने जवाफ दिनुभएको छ ।

यसअघि नाउपाकै सांसद लक्ष्मण किशोर चौधरीले दाबी पेश गर्नुभएको थियो । लक्ष्मणलाई नेपाली कांग्रेस, नेकपा एस लगायत दलहरूको समर्थन रहेको छ । लक्ष्मणले दावी पेश गरेको केही समयपछि कैलाशले पनि दावी पेश गर्नुभएको हो ।