सुनसरी, बैशाख ३ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले आध्यात्मिकताले समाजको शुद्धीकरण गर्ने बताउनु भएको छ ।
सुनसरीको धार्मिक एवं पर्यटकीय स्थल वराहक्षेत्र नगरपालिका १ चतरा धाममा जारी बाह्रबिसे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले यस्तो बताउनुभएको हो । आफूलाई जहिले पनि न आस्तिक न नास्तिक भन्दै गर्दा पनि ओम शान्तिको दिदीबहिनीहरूको आग्रहका कारण आफू पनि केही कुरा जान्ने, बुझ्ने र केही सुन्ने पनि गरेको उहाँले बताउनु भयो ।
नेपाली भूमि हिन्दु सनातनीहरूको ठुलो पावन भूमि रहेको भन्दै मन्त्री चौधरीले इतिहासको कालखण्डमा लिखित हिन्दु सनातनीमा मात्र नभएर अनेक इतिहासहरूले कोरिएको कौशिक नदिको नाम जोडिएको भूमिका हिसाबले पनि चतरा धाम महत्त्वपूर्ण रहेको बताउनु भयो ।
मन्त्री चौधरीले धार्मिक आस्था, आध्यात्मिक कुराले अहिलेको समाजलाई परिवर्तन गर्न सक्ने समेत बताउनु भयो । ‘धर्म, कर्म, आध्यात्मिक चिजले खाली हामी परमधाम, परमपिता अथवा स्वर्गमा जान्छौ भन्ने आशा, भरोसा र आस्था मात्रै होइन । अहिलेको समाज धेरै तडकभडक, धेरै प्रतिस्पर्धात्मक छ सँगै अस्वस्थ प्रतिस्पर्धा छ’, उहाँले भन्नुभयो, ‘यो अस्वस्थ प्रतिस्पर्धालाई चिर्न, तडकभडकपूर्ण समाजलाई चिर्नका लागि हरेक राजनीतिज्ञ, हरेक व्यवसायी वा आम व्यक्तिमा धार्मिक आचरण हुनुपर्छ।’
हरेक व्यक्तिमा धार्मिक आचरण भएमा समाजमा जुन प्रदूषित तरिकाले अस्वस्थ प्रतिस्पर्धा भइरहेको छ, त्यो अस्वस्थ प्रतिस्पर्धालाई स्वस्थ बनाउन सकिने समेत मन्त्री चौधरीले दाबी गरिन्। स्वस्थ, सभ्य, असल, संस्कारी समाज बनाउनका लागि आध्यात्मिक शिक्षाले महत्त्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ।
अध्यात्म, मेडिटेसन पनि मान्छेको मल्टिपल इन्टेलिजेन्स भएको भन्दै उहाँले भगवान् बुद्धले पनि त्यो समयमा मेडिटेसन, ध्यान गरेर बुद्धत्व प्राप्त गरेको बताउनु भयो। आध्यात्मिक कुराहरू धेरै महत्त्वपूर्ण कुरा भएको वैज्ञानिकले साबित गरेको समेत उहाँले बताउनु भयो ।
भारतमा पनि १२ वर्षमा ठुलो कुम्भ मेला लाग्ने गरेको प्रसङ्ग उल्लेख गर्दै मन्त्री चौधरीले यस्ता धार्मिक मेलाहरूले मुलुकको पर्यटकीय सँगै आर्थिक विकासमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने बताउनु भयो।

‘चतरा धाम, बराह क्षेत्रमा जुन कुम्भ मेलाको सुरुआत भयो। इतिहासको कालखण्डमा हाम्रा ऋषि मुनीहरूले तपजप गर्ने यो महत्त्वपूर्ण ठाउँ । यो कुम्भ मेलाको सुरुआत गर्दाखेरि तपाईंहरूले कति धेरै कुरा व्यहोर्नुभएको होला’, उहाँले भन्नुभयो, ‘भारतमा पनि तपाईंहरूले सुन्नुभएको छ त्यहाँ पनि १२ वर्षमा कुम्भ मेला लाग्छ । कुम्भ मेलाले आन्तरिक पर्यटक, नेपालका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक सँगसँगै एसियन क्षेत्रका पर्यटकहरू त्यहाँ आउँछन् । त्यसरी नै नेपालमा पनि कुम्भ मेला लगाइरहँदा खेरि यो भूमिलाई पावन बनाउनका लागि सरकार तथा हामी सबै मिलेर भूमिका निर्वाह गर्न जरुरी छ ।’
वराहक्षेत्र चतरा एक महत्त्वपूर्ण धार्मिक गन्तव्य भएको भन्दै उनले धार्मिक गन्तव्यहरूको विकास र प्रवर्द्धन गर्नका निम्ति सबै केन्द्रित हुनुपर्ने बताउनु भयो।
‘वराहक्षेत्र चतरा धामलाई उत्कृष्ट धार्मिक गन्तव्य बनाउन सकेमा हिन्दु धर्मावलम्बीहरूले नेपाल र भारतको मात्र होइन एसिया क्षेत्र तथा विश्वकै हिन्दु धर्मावलम्बीहरूको आकर्षित गर्न सक्छौँ’, मन्त्री चौधरीले भनिन्, ‘सँगसँगै हामी कसरी आर्थिक रूपले पनि सम्पन्न हुन सक्छौँ भन्नेतर्फ ध्यान दिन आवश्यक छ । हिन्दु सनातनी भारतमा बढी होला। त्यसपछि नेपालमा होला । त्यसकारण त्यहाँका पर्यटकको आकर्षण गर्न सकेमा आर्थिक रूपमा पनि सम्पन्न हुन सकिन्छ । जसले गर्दा अन्य धर्मावलम्बीहरू पनि प्रोत्साहित हुन सक्छन्।’
मन्त्री चौधरीले वराहक्षेत्र चतरा भूमिको विकासका निम्ति राज्यको तर्फबाट गर्न सकिने सहयोग गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। मुलुककै ठुलो धार्मिक गन्तव्यको रूपमा विकास गर्नका निम्ति सबै लाग्नुपर्ने भन्दै उहाँले बराह क्षेत्र चतरा धामको विकासमा निम्ति मन्त्रालयका तर्फबाट पनि सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।












प्रतिक्रिया दिनुहोस्