जनता टाइम्स

११ आश्विन २०७६, शनिबार ०८:००

आतंकवादविरुद्धको अभिसन्धिलाई कार्यान्वयनमा लैजान अब ढिलाइ गर्न मिल्दैन : परराष्ट्रमन्त्री ज्ञवाली


न्यूयोर्क, असोज ११ । नेपालले आतंकवादको विरोधमा विश्व समुदायको साझा धारणा जरुरी रहेको बताएको छ । न्यूयोर्कमा जारी राष्ट्र्रसंघीय महासभाको ७४ औं बैठकमा शुक्रबार अपरान्ह नेपालको धारणा राख्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आतंकवादका विरुद्ध विश्वले साझा धारणा बनाउनुपर्ने बताउनु भएको हो ।

नेपालले लिबिया, सिरिया, यमनलगायतका द्वन्द्वग्रस्त मुलुकको स्थितिमाथि चिन्ता व्यक्त गर्दै सबै प्रकारका आतंकवादको विरोधमा विश्व समुदायको साझा धारणा जरुरी रहेको मन्तव्य राख्नु भयो । राष्ट्रसंघको आतंकवाद प्रतिरोधसम्बन्धी ग्लोबल रणनीतिलाई कार्यान्वयनको तहमा लैजानका लागि पहल हुनुपर्ने बताउनु भयो ।

‘आतंकवाद विरुद्धको अभिसन्धिलाई कार्यान्वयनमा लैजान अब ढिलाइ गर्न मिल्दैन,’ परराष्ट्रमन्त्री ज्ञवालीले भन्नुभयो, ुहिंसा र द्वन्द्वका कारण उब्जिएको मानवीय संकटलाई सम्बोधन गर्नै पनि यी सरोकारका विषयमा ध्यान आकृष्ट हुनैपर्छ ।’

नेपालले हरेक विवाद र द्वन्द्वको समाधान संवाद र सहमतीमार्फत हुन्छ भन्ने मान्यतामा विश्वास राख्दै आएको बताउँदै मन्त्री ज्ञवालीले मध्यपूर्वी मुलुकहरुमा देखिएको समस्या, इजरायल–प्यालेस्टाइन मामलामा समेत नेपालको धारणा राखेका छन् । तर, यसअघि भारत–पाकिस्तान विवाद र जम्मु–कश्मीर मामलामा धारणा राखिसकेको नेपालले राष्ट्रसंघमा उभिएर भने यसबारे कुनै टिप्पणी गरेको छैन ।

मन्त्री ज्ञवालीले नेपालमा लामो समयदेखि ठूलो संख्यामा शरणार्थीको बसोबास रहँदै आएको सन्दर्भ उल्लेख गर्दै शरणार्थीको पहिलो अधिकार घरफिर्ती भएकाले सुरक्षित र सम्मानित ढंगबाट घर फर्कन पाउने पक्षमा नेपाल उभिएको बताउनुभयो ।

मन्त्री ज्ञवालीले जलवायु परिवर्तन र पर्यावरणीय असन्तुलनबारे अर्न्तराष्ट्रिय समुदायको ध्यानाकर्षण गर्दै आगामी वर्ष अप्रिल महिनामा काठमाडौंमा साझा सरोकारका विश्वव्यापी विषयमा संवाद गर्न ‘सगरमाथा डाइलग’को आयोजना गरिएको जानकारी दिनुभएको थियो ।