जनता टाइम्स

११ आश्विन २०७६, शनिबार ०८:११

दशैँसम्मै पानी पर्ने सम्भावना


काठमाडौं, असोज ११   यस वर्ष मनसुन अन्त्य हुने पहिलेको औसत अवधिभन्दा तीन दिन पर पुगेको छ । नेपालको मध्य र पूर्वी भागमा दक्षिणपूर्वी जल वाष्पयुक्त हावाको प्रभाव देखिएकाले मनसुनी गतिविधि अझै बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुन सकिनका लागि जुन किसिमको वातवरण आवश्यक पर्थ्यो वातावरण अनुकूल देखिदैन । तल्लो वायुमण्डलमा पश्चिमी वायु चल्नुपर्छ तर अहिले पूर्वी वायु नै सक्रिय रहेकाले मनसुनको समयावधि लम्बिएको मौसमविद् समीर श्रेष्ठले बताउनुभयो । केही दिनयता निरन्तर रुपमा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आइरहेकाले दशैँसम्म नै मनसुन रहने सम्भावना देखिएको हो  उहाँले भन्नुभयो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा लामो समयको मौसमी गतिविधि प्रक्षेपण गर्ने प्रविधि नभए पनि एक सातासम्मको गतिविधि प्रक्षेपण गर्न सकिने प्रविधि छ । त्यसअनुसार दशैँको सुरुवाति दिनमा देशका धेरैजसो स्थानमा वर्षा हुने सम्भावना देखिन्छ ।