जनता टाइम्स

४ बैशाख २०८१, मंगलवार १३:२२

बैशाख ६ र ७ गते वालवालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाइदै


महोत्तरी, ४ बैशाख । नेपाल राष्ट्रिय भिटामिन ए कार्यक्रम हरेक बर्षको ६ र ७ बैसाखमा संचालन हुँदै आएको छ । सोही अनुसार महोत्तरीमा यसको व्यापक तयारी गरिएको छ । जिल्लाका १५ वटै स्थानिय तहहरुमा ६ महिना देखि ५९ महिनासम्मका वालवालिकाहरुलाई निर्धारित मितिमा भिटामिन ए क्याप्सुल जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यसका लागी जिल्लाभर स्वास्थ्यकर्मीहरुलाई तयार बनाईसकिएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीको फोकल पर्सन प्रतिभा सिंहले जानकारी दिनुभयो ।

शरीरलाई स्वस्थ–तन्दुरुस्त राख्न र उचित विकास गर्न महत्त्वपूर्ण मानिएको भिटामिन ए क्याप्सुलसगैँ जुकाको औषधिसमेत खुवाईने जिल्ला स्वास्थ्य कार्यालयले सोमबार एक पत्रकार सम्मेलनका विच कार्यतालिका नै सार्वजनिक गरेको छ । जिल्लाको कुल जनसंख्या मध्ये ५० हजार भन्दा वढी उक्त उमेर समुहका वालवालिकाहरुलाई भिटामिन ए क्याप्सुल खुवाईनेछ भने जुकाको औषधि १ देखि ५ बर्षसम्मका वालवालिकालाई खुवाइनेछ ।

बालबच्चामा भिटामिन ‘ए’ को कमी भएमा अन्धोपन र छालामा हुने समस्याका साथै उनीहरुको उमेर अनुसार हुनुपर्ने शारीरिक तथा मानसिक विकासमा कमी आउने भएकाले यो खुवाउन महत्त्वपूर्ण रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । स्वास्थ्यकर्मी तथा फोकल पर्सन सिंहका अनुसार भिटामिन ए कै कमिको कारण दाँत र हड्डीको पर्याप्त विकास हुन पाउँदैन भने ५ वर्ष मुनिका बालबच्चाको मृत्‍युदर अरु बच्चाको तुलनामा ४ गुणा उच्च हुने गर्दछ ।

नेपालमा सन् १९९३ पूर्व ५ वर्ष मुनिका बालबच्चाको मृत्‍युदर उच्च थियो जसको एउटा कारण भिटामिन ‘ए’ को कमी पनि भएको एक अध्ययनले देखाएको छ । १९९३ देखि सरकारले भिटामिन ‘ए’ क्याप्सुल खुवाउने अभियान सुरु गरेपछि ५ वर्षमुनिका बालबच्चाको मृत्‍युदर क्रमशः घट्दै गएको तथ्यांकले देखाएको छ । महोत्तरीमा आफ्ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत भिटामिन ए र जुकाको औषधि खुवाउन र सम्बन्धित पालिकाको स्वास्थ्य साखामा सम्पर्क गर्न स्वास्थ्यकर्मीहरुले अनुरोध गरेका छन ।