जनता टाइम्स

४ बैशाख २०८१, मंगलवार २३:५२

काठमाडौंको प्रसिद्ध सेतो मच्छिन्द्रनाथको रथजात्रा सुरु


काठमाडौं, बैशाख ४ । सेतो मच्छिन्द्रनाथको रथजात्रा सुरु भएको छ । काठमाडौंको प्रसिद्ध सो यात्रा मंगलबारदेखि सुरु भएको हो ।

वर्षा र सहकालका देवता तथा करुणामयको नाममा समेत परिचित मच्छिन्द्रनाथको रथजात्रा हरेक वर्ष चैत्र शुक्ल अष्टमीको दिन सुरु गर्ने गरिन्छ । जात्राको पहिलो दिन काठमाडौंको जमलस्थित तीनधारा पाठशाला क्षेत्रमा राखिएको रथलाई तानेर असन पुराइन्छ ।

दोस्रो दिन असनदेखि हनुमानढोकासम्म रथ तानेर लगिन्छ । तेस्रो दिन हनुमानढोकाबाट लगनसम्म पुर्याइन्छ । मच्छिन्द्रनाथको रथ लगन पुगेपछि यसको स्वागत गरी भोज खाने चलन रहेको व्यवस्थापन समितिले जनाएको छ ।

जात्राको चौथो दिन रथलाई लगन आमा रुख परिक्रमा गराइन्छ । वैशाख ८ गते विभिन्न ठाउँमा खट जात्रा गरी जात्रा सम्पन्न गरिन्छ ।मच्छिन्द्रनाथको राष्ट्रपतिले पनि दर्शन गर्ने प्रचलन छ । मल्लकालीन राजा यक्ष मल्लको पालाबाट यो जात्रा सुरु भएको मानिन्छ । पानी, सहकाल र दीर्घजीवनको कामना गर्दै यो रथजात्रा निकाल्ने गरिन्छ ।