जनता टाइम्स

५ बैशाख २०८१, बुधबार १४:४५

साउदी अरेबियाविरुद्ध नेपालले टस जित्यो, पहिला बलिङ गर्दै


काठमाडौं, ५ बैशाख । एसीसी प्रिमियर कप अन्तर्गत आज नेपाल र साउदी अरेबियाबीच खेल हुँदैछ । ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमीको दोस्रो मैदानमा हुने यो खेल ८/८ ओभरको हुने भएको छ । यस खेलमा नेपालले टस जितेको छ । नेपाली कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् । योसँगै साउदी अरेबियाले पहिला ब्याटिंग गर्ने भएको छ ।

यो खेल नेपाली समय अनुसार सवा २ बजेदेखि शुरु हुँदै छ । गएराती ठुलो बर्षा भएकोले आज खेल हुने पिचमा क्षति पुगेको कारण समयमा खेल शुरु हुन नसकेको हो । नेपालले यसअघि नै लगातार तीन खेलमा जित हासिल गर्दै समुह ए मा ६ अंकसहित समुह बिजेता बनेर सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।

नेपालका लागि यस खेलको नतिजाले अब कुनै असर नगर्ने भएको छ । त्यस्तै साउदी अरेबियाले भने यस अघि खेलेका ३ खेलमा एक जितसहित २ अंक हासिल गरेर तेस्रो स्थानमा रहेको छ र साउदी अरेबियालाई यस खेलको जितले सेमिफाइनलमा लैजाने सम्भावना बढी देखिएको छ । साउदी अरेबियाको रनरेट राम्रो रहेकाले यस खेलको जितले सेमिफाइनलमा पुर्याउन सक्छ ।