जनता टाइम्स

११ आश्विन २०७६, शनिबार १०:३८

पूर्वप्रधानन्यायाधीश उपाध्यायको निधन


काठमाडौं, असोज ११

पूर्वप्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको ८२ वर्षको उमेरमा निधन भएको छ । उच्च रक्तचाप र मधुमेहबाट पीडित उपाध्यायको काठमाडौंस्थित निवासमा शुक्रबार राति ८ बजे निधन भएको हो ।

परिवारिक स्रोतले दिएको जानकारी अनुसार उहाको आजै ११ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्ने जानकारी दिएको छ । उहाका श्रीमती, दुई छोरा र एक छोरी छन्। १९९४ मंसिर २० गते जन्मिएका उपाध्यायले करिब ३८ वर्ष न्यायासेवामा बिताउनु भयो । २०५६ पुष २ गते प्रधानन्यायाधीश नियुक्त उपाध्यायले २०५९ मंसिर १९ गते अवकाश पाउनु भएको थियो ।

उपाध्यायका संसद् पुनर्स्थापना, मानवअधिकार, महिला अधिकार तथा वातावरण सम्बन्धी फैसलाहरू महत्त्वपूर्ण मानिन्छ । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले संसद् विघटन गरेपछि परेको रिटमा प्रधान न्यायाधीश विश्वनाथ उपाध्यायसहित ११ जना न्यायाधीश रहेको विशेष इजलासले संसद् पुनर्स्थापनाका पक्षमा फैसला गरेको थियो । २०५२ भदौ १२ गतेको उक्त फैसलामा उपाध्यायसहितले पुनर्स्थापनाका पक्षमा फैसला दिएका थिए ।