जनता टाइम्स

७ बैशाख २०८१, शुक्रबार १७:०७

वर्तमान सत्ता समीकरण परिवर्तन हुँदैन : झलनाथ खनाल


मोरङ, ७ बैशाख । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सत्ता गठबन्धनका दलहरुको समीकरण परिवर्तन नहुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पुरानो समीकरण परिवर्तन गर्नुपर्ने आवश्यकता महशुस भएर नै नयाँ समीकरण बनेको भन्दै यो परिवर्तन नहुने स्पष्ट पार्नुभयो ।

उहाँले पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गर्नु सामान्य भन्दै भएको छलफलकै आधारमा सत्ता गठबन्धनमा कुनै समस्या नपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘वामपन्थीहरुको एकताबाट मुलुकमा समृद्धिका लागि कम्युनिष्टबीच एकता जरुरी छ । यो आजको आवश्यक्ता पनि हो । यसमा कुनै दुईमत छैन ।’ उहाँले कोशी प्रदेशलगायत अन्य प्रदेशमा नयाँ सरकार निर्माण सुरु भइसकेको समेत बताउनुभयो ।

नेता खनालले पार्टीले कोशी प्रदेशमा मुख्यमन्त्री पदको माग नगरेको पनि उल्लेख गर्नुभयो । कोशी प्रदेश सरकारमा अल्पमतमा परेका मुख्यमन्त्री केदार कार्कीले राजीनामा नदिनु केही राजनीतिक र संवैधानिक समस्या भएको बताउनुभयो । उहाँले यो सङ्क्रमणको समय भएकाले छिट्टै समाधान हुनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले निर्वाचन प्रणालीमा परिमार्जन गर्नुपर्ने धारणा समेत राख्नुभयो ।