जनता टाइम्स

८ बैशाख २०८१, शनिबार १८:४८

महाधिवेशन यता राजनीति कष्टकर रह्यो, अहिले कोर्स करेक्सन भयो : अध्यक्ष ओली


काठमाडौं, ८ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको राष्ट्रिय राजनीति पार्टीको १० औं महाधिवेशन यताको २९ महिना निक्कै कष्टकर रहेको बताउनुभएको छ । आज दावरीमा नेकपा एमाले पहिलो राष्ट्रिय प्रतिनिधि परिषद् बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ओलीले एमालेको दशौँ राष्ट्रिय महाधिवेशन यताका २९ महिना देश र र पार्टीको लागि अत्यन्तै चुनौतीपूर्ण र कष्टकर रहेको बताउनुभएको हो । पार्टी विभाजन, पार्टीलाई सरकारबाट हटाइने कुरा तथा एमालेविरुद्धको साझा गठबन्धन नेकपा एमालेका लागि निक्कै चुनौतीपूर्ण रहेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो,‘घेराबन्दी, भ्रम प्रचार, आक्रमणका माध्यमबाट नेकपा एमालेलाई समाप्त पर्ने षडयन्त्रलाई चिर्दै हामी आज तुलनात्मक रूपमा अनुकूल परिस्थितिमा आइपुगेका छौँ ।’ अहिलेको अवस्थालाई अत्यन्त जटिल र कठिन परिस्थितिलाई पार गरेर तुलनात्मकरूपमा अनुकूल स्थितिमा आइपुगेको मान्नु पर्ने ओलीले विश्लेषण गर्नुभयो । यद्यपि आज पनि पार्टी र देशका सामुन्ने चुनौती रहेको पनि बताउनुभयो ।

निर्णायक राष्ट्रिय शक्तिको रूपमा नेकपा एमालेलाई स्थापित गर्ने र त्यही निर्णायक शक्तिका माध्यमबाट देशमा शान्ति, स्थायित्व, शासन, राष्ट्रिय हित र स्वाभिमान कायमा गर्दै समृद्धि र समाजवादको आधार तयार गर्ने मुख्य अभिभारा नेकपा एमालेको सामु रहेको प्रष्ट पार्नुभयो । प्रतिनिधि परिषद् बैठकले महाधिवेशन यताका करिब साढे दुई वर्षको वस्तुनिष्ठ समीक्षा गर्दै सो अभिभारा पूरा गर्न आगामी दिनमा गर्नुपर्ने कामबारे आवश्यक निर्देश दिने ओलीले विश्वास व्यक्त गर्नुभयो । पार्टीको दशौँ महाधिवेशन अराजकता र अवसरवाद माथिको संगठनात्मक विजयको महाधिवेशन भएको पनि उहाँले बताउनुभयो ।

उहाँले दशौँ महाधिवेशन संगठनात्मक अराजकताविरुद्ध विजयको महाधिवेशन भएको टिप्पणी गर्नुभयो । विभाजनको मनोविज्ञान चिर्न, क्रान्तिका कार्यक्रम र कार्यदिशालाई अद्यावधिक गर्न, पार्टीलाई नयाँ ढङ्गले पुनर्गठन र अग्रगति दिन महाधिवेशन अत्यन्त सफल भएको उहाँले बताउनुभयो । नेकपा एमालेले नेपालको कम्युनिष्ट आन्दोलनमा पहिलो पटक नीति र विधिको बारेमा मात्र छलफल गर्न विधान अधिवेशन आयोजना गरिएको उहाँले स्मरण गराउनुभयो । त्यसले पार्टी पङ्तीको मनोबललाई उच्च गराउने काम गरेको बताउनुभयो ।

नीति र नेतृत्वको छलफल एकै पटक गर्दा नीति माथि छलफल नै नहुने अनुभवबाट पाठ सिकेर एमालेले विधान महाधिवेशन गरेको बताउनुभयो । उक्त महाधिवेशनले जनताको बहुदलीय जनवादका आवश्यकता, महत्त्व र औचित्यलाई पुनः पुष्टि गरेको पनि सुनाउनुभयो । अब कार्यक्रमको मुख्य जोड समाजवादको आधार तयार गर्नुमा रहेको भन्दै एमालेको महाधिवेशनले निष्कर्ष सुनाउनुभयो । त्यसलाई अर्को शब्दमा समृद्ध नेपाल सुखी नेपाली भन्न सकिने उहाँले स्पष्ट पार्नुभयो ।

आफैँमा उच्च लोकतान्त्रिक चरित्र भएको पार्टीले मात्र समाजमा लोकतन्त्र स्थापना र विकास गर्न सक्छ भन्ने स्पष्ट धारणा नेकपा एमालेको रहेको बताउनुभयो । ‘नेकपा एमाले नेपाली समाजमा लोकतन्त्र स्थापनाका लागि बलिदानी संघर्ष र सही नेतृत्व गर्ने पार्टी हो, नेकपा एमाले आन्तरिक पार्टी जीवनमा लोकतान्त्रिकणको मानक निर्माण गर्ने पार्टी हो’, ओलीले भन्नुभयो । ओलीले नेकपा एमाले निक्कै अप्ठेरो परिस्थितिबाट गुज्रिएर आएको बताउनुभयो । सबै खालका घेराबन्दी चिरेर एमाले अघि बढेको बताउनुभयो ।

‘पार्टीले आफ्नो सबैभन्दा अप्ठेरो कालखण्ड कुलापूर्वक पार गरेको छ, हाम्रो पार्टी प्रति हामीले गर्व गर्नुपर्छ, जटिलतम भन्दा जटिलतम अवस्था पार गरेर आज हामी यहाँ आइपुगेका छौँ, आज पार्टी घेराबन्दी, षडयन्त्र र आक्रमणको चक्रब्युहलाई चिर्दै धुलो टकटक्याएर माथि उठेको छ’, ओलीले भन्नुभयो । पार्टी बचाउने उद्देश्यले विगतमा ठुला पार्टी संगठन बनाइएको ओलीले बताउनुभयो । त्यी कमिटीलाई पार्टी बनाउने कमिटीका रूपमा परिणत गर्न पार्टीका प्रदेश अधिवेशन सम्पन्न भएका र जिल्ला, पालिका र वडामा समय अगावै अधिवेशनको अभियान अहिले चलिरहेको उहाँले स्पष्ट पार्नुभयो ।

पार्टीलाई मजबुत बनाउने अब पार्टीको आधारभूत कोर्स पूरा नगरेको मान्छे पार्टी कमिटी र सार्वजनिक पदमा उम्मेदवार बन्न नसक्ने उहाँले बताउनुभयो । पार्टीमा दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई रत्तीभर अघि बढ्न नदिने उहाँले स्पष्ट पार्नुभयो । निष्ठावान् र एकताबद्ध पार्टी आजको आवश्यकता रहेको ओलीले बताउनुभयो । संगठनको स्तर र क्षमता वृद्धिमा विशेष ध्यान दिनु पर्नेमा उहाँले जोड दिनुभयो । पार्टीको जनतासँगको सम्बन्धलाई थप मजबुत बनाउनु पर्ने ओलीले बताउनुभयो । एमाले मजबुत भएकोमा जनविरोधी शक्तिलाई छटपटी चलेको ओलीले बताउनुभयो ।

एमाले विरुद्ध मिथ्या र भ्रामक सूचनाको आक्रमण र पार्टी एकतामा भाँजो हाल्ने प्रयास भइरहेको प्रति उहाँले सचेत गराउनुभयो । समाजमा बढेको निराशामा टेकेर दक्षिणपन्थी र लोकवादी मिठा कुरा गर्ने शक्तिले नागरिकलाई प्रयोग गर्न सक्ने उहाँले बताउनुभयो । उनीहरूले यस्ता कुरालाई उजागर गर्न सक्ने भए पनि उनीहरूले निकास दिन नसक्ने उहाँले बताउनुभयो । यसको लागि सही बिचार र दृष्टिकोण आवश्यक पर्ने ओलीले स्पष्ट पार्नुभयो । लोकतन्त्रको विकल्प निरङ्कुश र सामन्तवादी शक्ति हुनै नसक्ने उहाँले बताउनुभयो । ओलीले एमालेले सञ्चालन गरेको मिसन ग्रासरुटले पार्टीको आन्तरिक समस्या पत्ता लगाउन सहयोग गरेको बताउनुभयो ।

त्यस्तै एमालेले सञ्चालन गरेको ‘समृद्धिका लागि संकल्प यात्रा’ अभियानले लोकतन्त्र प्रतिको आस्थालाई अझ प्रगाढ बनाएको स्पष्ट पार्नुभयो । यसले पार्टी, नेता र जनताबिचको सम्बन्धलाई थप घनिष्ठ बनाएको टिप्पणी गर्नुभयो । सो यात्राले जातीय तथा साम्प्रदायिक हिंसा भड्काउने षडयन्त्रलाई निष्क्रिय पारिदिएको उहाँले स्पष्ट पार्नुभयो । पहाडी गाउँ रित्तिँदै जानु प्रमुख चुनौती रहेको उहाँले बताउँदै नेपालमा केही हुँदैन र केही गर्न सकिँदैन भन्ने प्रायोजित भाष्य र भ्रमपूर्ण प्रचारले युवा विदेश पलायन बढेकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।