जनता टाइम्स

११ आश्विन २०७६, शनिबार १५:५६

मतदातामाझ उपप्रम पोखरेलले सुनाए चुनावमा गरिएको घोषणा कार्यान्वयन गर्ने सरकारको योजना


काठमाडौं, असोज ११ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले चुनावी घोषणालाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको प्रष्ट पार्दै निराश नहुन सबैमा आग्रह गर्नुभएको छ ।

दशैँ, तिहार, नेपाल संवत, छठ र ल्होसार पर्वका शुभकामना आदानप्रदान तथा हालसम्म भएका विकासका गतिविधिको सार्वजनिकीकरण कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री पोखरेलले सो जनाउ दिनुभएको हो । चुनावमा जनतामाझ पुगेर गरेका घोषणा आफूहरुले नभुलेको जानकारी पनि उहाँले दिनुभयो । उहाँले आफूले जिताएर पठाएको नेताले बाटो बिराउन लागेको देखे खबरदारी गर्न आह्वान पनि गर्नुभयो । उपप्रधानमन्त्री पोखरेलले जनताका काम गर्न जनप्रतिनिधिले कुनै बहानाबाजी गर्न नहुने बताउनुभयो । ‘जनप्रतिनिधि जनताले बनाएका हुन, म यसप्रति गम्भीर छु । तपाईंहरुका कुनै समस्या भए वडामार्फत ती समस्या सीधै मसँग बाँड्न सक्नुहुन्छ, म समाधान गर्न पहल कदमी लिन्छु,’ उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो ।

विक्रम संवत्को ठाउँमा नेपाल संवत

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेपाल संवत् सबै नेपालीले मान्ने संवत् भएको जिकिर गर्दै विक्रम संवत्का स्थानमा नेपाल संवत् लागू गर्नुपर्ने धारणा राख्नुभयो ।

टुकुचाले लिँदैछ बदला

काठमाडौं निर्वाचन क्षेत्र नं ५ (१) का प्रदेशसभा सदस्य नारायण सिलवालले मेलम्चीको पानीबाहेक जनताका अरु कुनै पनि कामका लागि आफू तयार रहेको बताउनुभयो । उहाँले विकासका लागि प्रदेशका तर्फबाट बजेट र स्रोतको व्यवस्थापन गर्ने प्रतिबद्धता पनि जनाउनुभयो । सांसद सिलवालले हालसम्म प्रदेशका तर्फबाट भए÷गरेका विकासका कामबारे विवरण प्रस्तुत गर्नुभयो । टुकुचा खोलाबाट वर्षेनी आइपर्ने समस्या स्थानीयवासीकै कारण उब्जिएको उहाँको भनाइ थियो । “टुकुचाले हामीलाई दुःख दिएको होइन । हामीले टुकुचालाई दुःख दिएका थियौंँ र अहिले हामीले दुःख पाएका हौंँ तर यो समाधान गर्नै नसकिने विषय होइन, हामी समाधानका लागि पहल गर्छौंँ,” उहाँले भन्नुभयो ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का प्रदेशसभा सदस्य सीता अधिकारीले सरकारले डेढ वर्षमा थुप्रै कानुन बनाएको र विकासका कामलाई पनि अघि बढाएको विचार राख्नुभयो । कामपा–२ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले अतिक्रमित सार्वजनिक जग्गा वडा मातहत ल्याएर त्यहाँ सरकारी भवन र संरचना निर्माण गर्ने अभियानलाई तीव्रता दिइने बताउनुभयो । “आजको कार्यक्रम पनि हालैमात्र वडामातहत ल्याइएको सार्वजनिक जग्गामा गरिरहेका छौंँ”, उहाँले भन्नुभयो, “यो एउटा सन्देश पनि हो, आगामी दिनमा हामी सरकारी जग्गा संरक्षणमा विशेषरुपमा लाग्ने छौंँ ।”