काठमाडौं, बैशाख १० । नेकपा एमालेले आज हिरक जयन्ती महोत्सव मनाउँदैछ । नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा एमालेले ललितपुरको गोदावरीस्थित सनराइज हलमा हीरक महोत्सवको आयोजना गर्न लागेको हो ।
एमालेले हिरक महोत्सवमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि विभिन्न दलका शीर्ष नेतालाई निम्तो दिएको छ । एमालेले प्रधानमन्त्री एवं माओवादी केन्द्रका प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई लगात विभिन्न दलका शीर्ष नेतालाई निम्तो दिएको छ ।
एमालेले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द र नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यलाई पनि निम्तो दिएको छ ।
महोत्सवमा एमालेले पूर्व राष्ट्रपति एवं पार्टीकी पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव पदकबाट सम्मान गर्न गर्नेछ । पार्टीमा योगदान गर्ने अरु केही व्यक्तिलाई पनि सम्मान गर्ने कार्यक्रम छ ।
महोत्सवमा विभिन्न राष्ट्रिय राजनीतिमा नयाँ सन्देश दिने कार्यक्रम साथै वृत्तचित्र पनि प्रदर्शन गरिने एमालेले जनाएको छ । शनिबार र आइतबार सनराइज हलमै एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को पहिलो बैठक बसेको थियो ।
प्रतिक्रिया दिनुहोस्