janatatimes

१० बैशाख २०८१, सोमबार ०८:५५

कम्युनिष्टको सहकार्य र एकताले मात्र देशको चुनौती सामना गर्न सकिन्छ : प्रचण्ड


काठमाडौं, वैशाख १०।  प्रधानमन्त्री एवम् नेकपा माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वामपन्थी देशभक्त तथा प्रगतिशील शक्तिहरुबिच सहकार्यका साथ सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यमा अग्रसर भइरहेको बताउनुभएको छ ।

समाजवादी क्रान्तिका नायक भ्लादिमिर इल्यिच लेनिनको १५४ औं जन्मजयन्ती र नेपाल कम्युनिष्ट पार्टीको ७५ औं स्थापना दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो ।

‘लेनिन जयन्तीको अवसर पारेर नेपालमा आजभन्दा ७५ वर्ष पहिले २००६ सालमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको थियो। वर्गसंघर्ष र अन्तरसंघर्षका अनुभव र आन्दोलनका विभिन्न आरोह अवरोहका साथ नेपालको कम्युनिष्ट आन्दोलनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्दै समाजवादको दिशा परिलक्षित गरेको छ। यसले जनवादी क्रान्तिको मूलभूत कार्यभार नेपाली विशिष्टता र मौलिकतासहित पूरा गर्दै समाजवादी क्रान्तिको आधारविन्दु निर्माण गरेको छ,’ प्रधानमन्त्री दाहालको शुभकानमा सन्देशमा भनिएको छ ।

सन्देशमा अगाडि भनिएको छ, ‘विचारधारात्मक सङ्घर्ष एवम् एकता र विभाजनका अनेकौँ अनुभवसहित यतिबेला हामी वामपन्थी, देशभक्त तथा प्रगतिशील शक्तिहरूबिच सहकार्यका साथ सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यमा अग्रसर भइरहेका छौँ। यसले हामीलाई एकातर्फ बदलिएको राजनीतिक प्रणालीअनुरूप जनताको जीवनमा परिवर्तन ल्याउँदै समाजवादको लक्ष्य प्राप्तिमा मार्गनिर्देश गर्नेछ भने अर्कोतर्फ सत्ता समीकरण, सहकार्य र सहयात्रा हुँदै एउटै कम्युनिस्ट केन्द्रको साझा सपना र सङ्कल्पलाई सार्थक तुल्याउनेछ।’

कम्युनिष्ट एवम् वामपन्थी शक्तिहरूको साझा सङ्कल्प, सहकार्य र एकताको आधारमा मात्रै देशमा विद्यमान चुनौतीहरू सम्बोधन गर्ने भन्दै प्रचण्डले सत्ता सहयात्रालाई विभिन्न चुनौतीहरूबाट जोगाउँदै निर्धारित लक्ष्यसम्म पुर्याउनु साझा जिम्मेवारी उल्लेख गर्नुभएको छ ।