janatatimes

११ बैशाख २०८१, मंगलवार ०७:५४

कतारका राजा पहिलो पटक नेपाल आउँदै : राष्ट्रपतिले स्वागत गर्ने, विमानस्थल आधा घण्टा नोटाम हुने


काठमाडौं, ११ वैशाख । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका लागि आज नेपाल आउँदै हुनुहुन्छ ।

पहिलो पटक नेपालको राजकीय भ्रमणमा आउन लाग्नु भएका कतारका अमिर आज साँझ साढे ४ देखि साँझ ५ बजेभित्र नेपाल आइपुग्ने तालिका छ । उहाँको आगमनको अवसरमा आज नेपाल सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।

कतारी अमिरलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल आफैं विमानस्थल जानुहुने छ । उहाँको सवारीको दौरान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द हुनेछ । त्रिभुवन विमानस्थल स्रोतका अनुसार मंगलबार दिउँसो साढे ४ देखि साँझ ५ बजेसम्मका लागि ‘नोटिस टु एयरमेन’ (नोटाम) जारी गरिएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार अमिर थानीले राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेट गर्ने कार्यक्रम रहेको छ । उहाँको सम्मानमा राष्ट्रपतिले राजकीय भोजको आयोजना गनुहुने छ ।भ्रमणको दोस्रो दिन अमिर थानीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग द्विपक्षीय वार्ता गर्ने कार्यतालिका छ ।

वार्तापछि दुवै नेता द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुनेछन् । यो भ्रमणबाट कतार र नेपालबीचको आत्मिय सम्बन्ध अझ सुमधुर हुनाका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीले बताउनुभयो । उहाँ बुधबार स्वदेश फर्किने कार्यतालीका रहेको छ ।

बुधबार अमिर थानी फिर्ता हुने समयमा समेत यस्तै प्रकारको नोटाम जारी हुनेछ । राजकीय भ्रमणका सिलसिलामा अतिविशिष्ट पाहुनाको सम्मान र सुरक्षाका विमानस्थल बन्द गर्ने प्रचलन छ ।