जनता टाइम्स

११ आश्विन २०७६, शनिबार १८:२५

माधव नेपालको खुलासा : दरवार र कांग्रेसको छाडेर एमालेले पठाएको ड्राफ्ट पढन बाध्य भए राजा ज्ञानेन्द्र


काठमाडौं, असोज ११ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले तात्कालिन राजा ज्ञानेन्द्रले ०६३ वैशाख ११ मा राजा जारी गरेको विज्ञप्तिको ड्राफ्ट एमालेले गरेर दिएको खुलासा गर्नुभएको छ । भरतमोहन अधिकारी स्मृति फाउन्डेसनले काठमाडौंमा आज आयोजना गरेको ‘भरतमोहन अधिकारी : व्यक्ति एक, व्यक्तित्व अनेक’ विषयक गोष्ठिमा बोल्दै नेकपा एमालेका तात्कालिन महासचिवसमेत रहनुभएका नेता नेपालले सो खुलासा गर्नुभएको हो ।

नेता नेपालका अनुसार राजा ज्ञानन्द्रले पढेको सो बक्तब्य भरतमोहन अधिकारीले त्यो मस्यौदा लेख्ने काम गर्नुभएको थियो । ‘कांग्रेस र हामीले छुट्टाछुट्टै ड्राफ्ट दिएका थियौं । दरबारको पनि छुट्टै थियो । हामीले हाम्रो ड्राफ्टअनुसार राजाको सम्बोधन हुनुपर्छ भन्ने अडान राखेपछि ज्ञानेन्द्रको ९ बजेका लागि हुने भनिएको घोषणा राति ११ बजे भयो,’ पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपालले भन्नुभयो, ‘सुरुमा प्यारा देशबासीहरु र अन्तिममा श्रीपशुपतिनाथले हामी सबैको कल्याण गरुन भन्ने शब्द बाहेक राजाले सबै हामीले लेखेर दिएको पढे । वास्तबमा भन्ने हो भने त्यही घोषणा नै राजतन्त्र अन्त्यको जग थियो ।’

नेता नेपालले वरिष्ठ कम्युनिस्ट नेता एवं पूर्वअर्थमन्त्री स्वर्गीय अधिकारीको व्यक्तित्वबाट सबैले सिक्नुपर्ने धारणा पनि राख्नुभयो । उहाँका अनुसार अधिकारी अफ्ठ्यारो बेलामा निकास दिनसक्ने नेता हुनुहुन्थ्यो । ‘उहाँ (भरतमोहन अधिकारी) स्पष्ट विचार भएको, सही विषयमा अडान लिन सक्ने र अप्ठेरो परेका बेला निकास दिन सक्ने खुबी भएको राजनेताका रुपमा हुनुहुन्थ्यो,’ नेपालले भन्नुभयो । ०५१ सालमा एमालेको नौ महिने सरकारका अर्थमन्त्रीका रुपमा अधिकारीले गाउँगाउँमा बजेट पुर्याएको चर्चा गर्दै नेता नेपालले त्यसयताका सबै सरकारले अधिकारीकै सिको गरिरहेको ठोकुवा गर्नुभयो । ‘भरतमोहनजीमा नयाँनयाँ र कलेक्टिभ काम गर्न सक्ने खुबी थियो, अर्थमन्त्री र लामो समय पार्टीको आर्थिक विभागमा बसेर काम गर्दा कहिल्यै विवादमा आउनु भएन । सुशासनका पक्षमा उहाँ दृढ हुनुहुन्थ्यो,’ नेपालको भनाई थियो ।

०४७ सालको संविधान मस्यौदा समितिको सदस्य र दुईपटक संविधानसभा सदस्यका रुपमा अधिकारीले संविधान निर्माणमा अतुलनीय योगदान गरेको पनि उहाँले बताउनु भयो । कार्यक्रममा पूर्वमन्त्री राधाकृष्ण मैनाली, स्वर्गीय अधिकारीका बालसखा समेत रहनुभएका पूर्वराजदुत कमल कोइराला, प्राध्यापक कृष्ण पोखरेल, डा. गोविन्दबहादुर थापा र अधिकारी पत्नी सविता अधिकारीले स्वर्गीय अधिकारीको व्यक्तित्व र कृतित्वको चर्चा गर्नुभएको थियो ।