जनता टाइम्स

१३ बैशाख २०८१, बिहीबार १४:०९

कम्युनिष्ट आन्दोलनका पर्याय मनमोहन : नेता पोखरेल


काठमाडौं, १३ वैशाख । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारीलाई कम्युनिष्ट आन्दोलनको निरन्तरताको पर्यायको रुपमा बुझ्न आवश्यक रहेको बताउनुभएको छ । आज ललितपुरमा मनमोहन स्मृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा सो कुरा बताउनुभएको हो । मनमोहन अधिकारीको २५ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले स्व. नेता अधिकारीले अनेक उत्तारचढाव खेप्नुभएको चर्चा गर्नुभयो ।

उहाँले शासन सत्तामा रहँदा मात्र नभई स्व. नेता अधिकारी प्रतिकूल अवस्थामा समेत स्थिर रहनुभएको बताउनुभयो । कम्युनिष्ट आन्दोलनभित्र देखापर्ने कुनै पनि अतिवादमा स्व। अधिकारी नपर्नुभएको उहाँले चर्चा गर्नुभयो । स्वभाव र विचारमा नरम देखिए पनि देब्रे वा दाहिने विचार र प्रवृत्तिको विरोधमा उहाँ रहनुभएको बताउनुभयो । अहिलेको कम्युनिष्ट आन्दोलनमा लागेका विद्यार्थीले मनमोहन अधिकारीको सादगीपूर्ण जीवनीको बारेमा जान्न आवश्यक रहेको उहाँले चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, ‘मनमोहन अधिकारीलाई हामीले कम्युनिष्ट आन्दोलनको निरन्तरताको पर्यायको रुपमा बुझ्नुपर्छ ।

उहाँका जीवनमा अनेक उत्तारचढाव आए तर कहिल्यै खण्डित हुनुभएन । कहिल्यै पनि विशृङ्खलित हुनुभएन ।’ शासन सत्तामा रहँदा मात्र होइन, अत्यन्त प्रतिकूल अवस्थामा समेत उहाँले जिम्मेवारीपूर्वक काम गर्नुभएको उहाँले स्मरण गर्नुभयो । ‘हामी मनमोहन अधिकारीलाई कम्युनिष्ट आन्दोलनको निरन्तरताको अर्को नामका रुपमा लिने गर्दछौँ । कम्युनिष्ट आन्दोलनभित्र देखापर्ने कुनै पनि अतिवादमा उहाँ रहनुभएन’ उहाँले थप्नुभयो,‘उहाँ स्वभावमा नरम देखिए पनि, विचारमा नरम देखिए पनि, देब्रे वा दाहिने विचार र प्रवृत्तिको विरोधमा रहनुभयो । उहाँ कहिले पनि त्यो व्यवहारप्रति सहमत हुनुभएन ।’