janatatimes

१५ बैशाख २०८१, शनिबार १८:४१

इलाम–२ मा ५७ प्रतिशत मतदान, आजैदेखि मतगणना गर्ने तयारी


इलाम, १५ वैशाख। इलाम २ को उपचिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम २ मा ५७ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार करिब ६६ हजारले मतदान गरेका छन् ।मतगणना शनिबार नै सुरु गर्ने तयारी छ ।

शनिबार अपरान्ह ५ बजेसम्म मतगणनाको समय तोकिए पनि लाइन लागेकाहरु सबैले मतदान गर्दा केही समय लाग्नेछ ।त्यसपछि सबै मतदान केन्द्रबाट सदरमुकाम इलाम बजारमा मतपेटिका ल्याइने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।‘राति १० बजेसम्म मतपेटिका सबैतिरबाट आइपुग्ने अपेक्षा गरिएको छ । आइपुग्यो भने त्यतिनै बेला सर्वदलीय बैठक बसेर निर्णय हुन्छ, चाडो मतपेटिका ल्याउन सके आजैदेखि मतगणना गर्ने तयारी गरेका छौं’, प्रजिअ यादवले भन्नुभयो ।

भौगोलिक कठिनाइ र सडक राम्रो नभएका कारण फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपालिका र माङसेबुङ गाउँपालिकाबाट इलाम सदरमुकामसम्म मतपेटिका ल्याउन समय लाग्न सक्छ ।मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामले मतगणना केन्द्रका रुमा गौतमबुद्ध सभागृहलाई तोकेको छ । इलाम २ मा ६ वटा पालिकाका ४२ वडाका १४९ मतदान केन्द्रबाट मतपेटिका संकलन गर्नुपर्छ ।मतपेटिकाको ढुवानी ढिलो भएमा आइतबार मतगणना गर्ने तयारी छ ।