janatatimes

१६ बैशाख २०८१, आईतवार ०७:३१

इलाम र बझाङमा मतगणना सुरु हुँदै


इलाम, १६ बैशाख । उपनिर्वाचन भएका इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (१) को मतगणना आज सुरु गरिंदैछ ।इलामको मतगणना आज बिहानदेखि सुरु गर्ने तयारी छ । मतगणना इलाम सदरमुकामको गौतमबुद्ध सभागृह हुनेछ ।मतगणना सुरु गर्नुअघि बिहान ७ बजे सर्वदलीय बैठक छ । बैठकपछि मतगणना सुरु हुनेछ ।

चुलाचुली गाउँपालिका, माङ्सेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकाको मतपेटिका शनिबार राति १० बजेसम्म पनि संकलन हुन नसकेपछि शनिबार नै गणना सुरु गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।

सर्वदलीय बैठकले मतगणनाबारे विविध निर्णय गरेपछि मात्र मतगणना सुरु हुनेछ । इलाम क्षेत्र नम्बर २ का १ लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ मतदाताले शनिबारको उपनिर्वाचनमा मतदान गरेका थिए ।

मतदान अधिकृत र प्रहरीले गरेको टिपोटको आधारमा इलाम २ मा ६० प्रतिशत मत खसेको विवरण प्राप्त भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो । यसैगरी बझाङमा पनि आजदेखि मतगणना सुरु गर्ने तयारी छ । प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलका अनुसार साइपाल गाउँपालिकाका साइपाल, एराङकुरी र दुलीका मतपेटिका आउन बाँकी छ ।

ती मतपेटिका हेलिकप्टरमार्फत् आज बिहान ८ बजेभित्र ल्याइपुर्‍याएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु हुने छ । बझाङको प्रदेशसभा १ मा भएको उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार ३२८ मतदान भएको थियो ।

प्रदेश सभा सदस्यको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एमालेबाट दमनबहादुर भण्डारी, नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट जनकबहादुर बुढा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट किशोरकुमार खड्का र नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीबाट दिलबहादुर सिंह सहित ११ जना प्रतिस्पर्धामा छन् ।