जनता टाइम्स

१६ बैशाख २०८१, आईतवार १५:२३

इलाम उपनिर्वाचन : कांग्रेसका डम्बरभन्दा पछि परे एमाले उम्मेदवार सुहाङ


इलाम, बैशाख १६ । इलाम २ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन को प्रारम्भिक मतपरिणाम सार्वजनिक गरिएको छ ।

प्रारम्भिक मतपरिणामअनुसार, नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई पछि पार्दै नेपाली कांग्रेसका उम्मेदवार डम्बर खडकाले अग्रता लिनुभएको छ । यसअघि ४ सय ५२ मत गणना गर्दा एमालेका सुहाङ नेम्वाङले १ सय ६८ मतसहित अग्रता लिनुभएकोमा अहिले खडकाले ८२ मतले अग्रता लिनुभएको हो ।

फाकफोकथुम वडा नम्बर १ को मतपरिणाम सार्वजनिक हुँदा खडकाले ११४५, सुहाङले १०६३ मत पाउनु भएको छ । यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम १ सय ८७, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले १५ मत पाउनु भएको छ । अहिले सार्वजनिक भएको परिणाम फाकफोकथुम वडानम्बर १ र २ को हो ।

सो वडामा गत २०७९ को निर्वाचनमा कांग्रेसका खडकाले ११ सय ८०९ मत पाउनु भएको थियो भने एमालेका सुवासचन्द्र नेम्वाङ (स्व) ले ४७५ मत मात्र पाउनु भएको थियो । २०७९ को चुनावमा निर्वाचित सुवास नेम्वाङको निधन भएपछि इलाम– २ मा उपनिर्वाचन भएको हो । निर्वाचनमा १८ प्रतिस्पर्धी जना छन् ।

चुनावी मैदानमा एमालेबाट सुहाङ नेम्वाङ, कांग्रेसबाट डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलनकुमार योङहाङ लिम्बू, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी गुरुङ, जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, नेकपा (एकीकृत समाजवादी) बाट जीतकुमार राई हुनुहुन्छ ।

यसैगरी, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी, मंगोल नेसनल अर्गनाइजेसनबाट मनिबहादुर लिम्बू, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट गणेशबहादुर चौहान, नेपाली जनता दलबाट रेशबहादुर सुनार, राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट जयवन्त विक्रम शाह रहनुभएको छ ।

यस्तै स्वतन्त्र उम्मेदवार रूपमा अर्जुनबहादुर शाही, डकेन्द्रसिंह थेगिम लिम्बू, डाकप्रसाद बोहोरा, मनोज निरौला, योगेन्द्र गुरुङ र राज वश्याल रहनुभएको छ । निर्वाचनमा १८ जना उम्मेदवार भए पनि मुख्यतः एमालेका सुहाङ, कांग्रेसका खड्का, रास्वपाका लिम्बूबीच प्रतिस्पर्धा देखिएको छ । यस्तै स्वतन्त्र उम्मेदवार थेगिम पनि प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । १ लाख १५ हजार ८ सय ८९ मतदाता भएको यस क्षेत्रमा ६० प्रतिशत अर्थात ६९ हजार २ सय ८७ जनाले मतदान गरेका छन् ।

७९ मतदानस्थलका १ सय ४९ वटा मतदान केन्द्रबाट शनिबार राति नै मतपेटिकाहरू सदरमुकामस्थित सिटी हलमा ल्याइएका थियो ।