जनता टाइम्स

१६ बैशाख २०८१, आईतवार १७:४८

सुहाङले घटाए डम्बरसँगका मतान्तर, कांग्रेस-एमाले उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुँदा चौथो स्थानतिर रास्वपाका उम्मेदवार (परिणामसहित)


इलाम, बैशाख १६ । इलाम–२ को उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले आफ्नो मतान्तर घटाउँदै लग्नुभएको छ ।

सुरुवाती चरणमा अग्रता लिई नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कासँग पछि पर्नुभएका नेम्वाङले तीन वटा वडाको मतगणना सकाउँदा मतान्तर निकै घटाउनु भएको हो । अहिलेसम्म फाकफोकथुम गाउँपालिका १, २ र ३ वडाको मतगणना गर्दा नेम्वाङले कांग्रेसका उम्मेदवार खड्कासँगको मतान्तर ४२ मा झार्नुभएको छ ।

कुल ४ हजार १ सय ८१ मत गणना हुँदा कांग्रेसका खड्काले १ हजार ६४३ र एमालेका नेम्वाङले १ हजार ६०१ मत पाउनु भएको छ । वडा नं १ र २ को मतगणनामा कांग्रेस उम्मेदवार खड्का ८० भन्दा बढी मतान्तरले अगाडि रहनुभएको थियो ।

गत स्थानीय निर्वाचनमा फाकफोकथुमको १ र २ वडामा कांग्रेसले जितेको थियो भने वडा नं ३ को वडाध्यक्षमा एमाले उम्मेदवार निर्वाचित भएका थिए । तीन वडाको मत गणना परिणाम आउँदा नेम्वाङले ४२ मतको अन्तरमा पुग्नुभएको हो ।

यस्तै तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम रहनुभएको छ । उहाँले ४३७ मत पाउनु भएको छ भने चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ३०५ मत पाउनु भएको छ ।