जनता टाइम्स

१७ बैशाख २०८१, सोमबार १३:५१

इलाममा एमाले उम्मेदवार सुहाङ ४५२३ मतले अगाडि, कांग्रेसका खडका स्वतन्त्र उम्मेदवार थेगिमभन्दा ११३ मतले मात्रै अगाडि


इलाम, बैशाख १७ । इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले आफ्नो अग्रता झनै फराकिलो बनाउनु भएको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो नजिताअनुसार सुहाङले १२ हजार ४०५ मतसहित अग्रता फराकिलो बनाउनु भएको छ । उहाँलाई नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खडकाले ७ हजार ८८२ मतसहित पच्छ्याइरहनु भएको छ ।

नेम्वाङ र खडकाबीचको मतान्तर ४५२३ रहेको छ । यस्तै कांग्रेसका खडकालाई स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ७ हजार ७६९ मत प्राप्त गर्नुभएको छ । उहाँहरुबीचको मतान्तर ११३ मात्र रहेको छ । यस्तै रास्वपाका मिलन लिम्बुले १७ सय १७ मत, नेकपा एकीकृत समाजवादीका जीतबहादुर राईले २५९ मत पाउनु भएको छ ।

उपनिर्वाचनमा माङसेबुङ गाउँपालिकाको मत गणनामा स्वतन्त्र उम्मेदवार थेगिमको दबदबा देखिएको छ । माङसेबुङ गाउँपालिका १, २, ३ र ४ र ५ नम्बर वडाको मत गणना हुँदा थेगिमले राम्रो मत प्राप्त गरी कांग्रेसका खडकालाई टक्कर दिनुभएको हो । माङसेबुङ गाउँपालिकामा पहिचानवादी स्वतन्त्र उम्मेदवार थेगिमले पहिलो मत पाउनुभयो । उहाँले उक्त पालिकाबाट २६ सय ३९ मत ल्याउँदा एमालेले २५ सय ९१ मत पाएको छ ।

यस्तै कांग्रेसले १४८० मत ल्याएको छ । रास्वपाका उम्मेदवार मिलन लिम्बुले आफ्नो गृह पालिकाबाट २४३ मत मात्र ल्याउन सके । माङसेबुङ–१ मा एमालेले ४११, कांग्रेसले ४३६, पहिचानवादीले ३७२ र रास्वपाले ३६ मत पाए । यस्तै माङसेबुङ–२ मा एमालेको ५८६, कांग्रेसको ३५१, मुढाले ३१७, रास्वपाले ९६ मत पाएका छन् । माङसेबुङ–३ मा एमालेले ५१९, कांग्रेसले ३१३, मुढाले ६४०, रास्वपाले ४२ मत प्राप्त गरेको छ । यस्तै माङसेबुङ– ४ मा एमालेले ४१६, कांग्रेसले ११८, बुढाले १६१ र घण्टीले ८ मत मात्र पाएको छ ।

माङसेबुङ– ५ मा भने मढाले एकलौटी मत पाएको छ । मुढाले १०३२ मत पाउँदा एमालेले ६९ र कांग्रेसले ४९ र रास्वपाले ३ मत मात्र पाए । एमालेले १, २, ४ र ६ गरी ४ वडाध्यक्ष जित्दा माओवादी केन्द्रले ३ र राष्ट्रिय जनमुक्ति पार्टीले ५ मा वडाध्यक्षमा जित हात पारेको थियो । धर्मगुरु आत्मानन्द लिङ्देनले माङसेबुङ– ५ को मत मुढामा खन्याएको देखिन्छ ।

माङसेबुङ ६ मा भने एमालेले राम्रो मत पाएको छ । त्यहाँ एमालेले ५९०, कांग्रेस २१३, मुढा ११६ र रास्वपाले ५८ मत पाएको छ । फाकफोकथुम, चुलाचुली र माङसेबुङ गाउँपालिकाको मतगणना सम्पन्न भएको छ । इलाम २ मा अहिले माई नगरपालिकाको ६, ७ र ८ वडाको मतगणना जारी छ ।