जनता टाइम्स

१७ बैशाख २०८१, सोमबार २०:१७

बिद्या भण्डारीको स्वागतमा एमालेका ५ हजार महिला नेता–कार्यकर्ता सहभागी हुने, २३ वटै जनसंगठनले बुझाए सहभागीको सूची


काठमाडौं, बैशाख १७ । नेकपा एमालेले ५ हजार महिला नेता–कार्यकर्तालाई सहभागी गराएर पूर्वराष्ट्रपति बिद्या भण्डारीको स्वागत गर्ने भएको छ । एमाले जनसंगठन समन्वय संयन्त्रले आगामी जेठ १६ र १७ काठमाडौंमा सो संख्यामा महिला सहभागी गराएर पूर्वराष्ट्रपति भण्डारीलाई पहिलो पटक राजनीतिक कार्यक्रममा सहभागी गराउन लागेको हो ।

नेकपा एमालेका २३ वटै जनसंगठनमा रहेका महिला नेता–कार्यकर्तालाई उतारेर सो कार्यक्रम आयोजना गर्न लागिएको छ । कार्यक्रमको प्रमुअ अतिथी भण्डारी र बिशेष अतिथी अध्यक्ष केपी शर्मा ओली रहनुहुने जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले बताउनु भयो ।

सोही भेलाको तयारीका लागि एमाले जनसंगठन समन्वय संयन्त्रले आज आयोजना गरेको बैठकमा एमालेले जनसंगठनमा रहेका पदाधिकारी, केन्द्रीय कमिटी, प्रदेश कमिटीका पदाधिकारी, महिला बिभाग प्रमुख र जिल्लाका महिला बिभाग प्रमुख सहभागी हुनेछन ।

यस्तै जननिर्वाचित प्रतिनिधि महिला र स्वबियूमा निर्वाचित महिला सभापतिलाई सहभागी गराउने गरी सहभागीको संख्या टुंगो लगाइएको छ । आजको बैठकमा सवै जनसंगठनबाट सहभागी हुने सदस्यहरुको संख्या उपलब्ध गराइएको छ ।

बैठकले भेलाका लागि हेल्थ डेस्क र स्वयंसेवक परिचाचालन डेस्क गठन गरेको छ । हेल्थ डेस्कको नेतृत्व स्वास्थ्यकर्मी महासंघ नेपालका अध्यक्ष डा. झलक गौतमले गर्नुहुनेछ भने स्वयंसेवक परिचालनको संयोजक अनेरास्वबियूकी सचिव अञ्जना शिवाकोटीलाई तोकिएको छ । स्वयंसेवक परिचालनमा युवा संघ, खेलकुद महासंघ र जिफण्टलाई पनि सदस्य राखिएको छ ।