जनता टाइम्स

१८ बैशाख २०८१, मंगलवार १३:५१

सिके राउतको रवि लामिछानेलाई सुझाव – जमानत जफत भयो, विचार गर्नुहोला


काठमाडौं, १८ बैशाख । जनमत पार्टीका अध्यक्ष सिके राउतले ८४ मा बहुमतको कुरा गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बझाङ र इलाममा जमानत जफत भएको विषय विचार गर्न आग्रह गर्नुभएको छ । सामाजिक सञ्जालमा उपनिर्वाचनबारे टिप्पणी गर्दै राउतले रास्वपा नेतृत्वलाई एक्लै दुई तिहाइ ल्याइन्छ भनेर ढुक्क बसेकोमा बझाङ र इलाममा जमानत जफत भएको सम्झाउनुभएको हो ।

उहाँले भन्नुभएको छ,‘रास्वपाको नेत्तृत्व र साथीहरूले पनि बुझ्नु पर्ने हो, मैले आन्दोलनको लागि पटक–पटक आग्रह गर्दा उहाँहरू २०८४ मा दुई(तिहाई एक्लै ल्याइन्छ भनेर ढुक्क बस्नु भएको थियो । बझाङ र इलाममा जमानत जफत भएको भोग्नु भयो, विचार गर्नुहोला । शुभचिन्तकको नाताले मात्रै खुल्लेआम भन्दैछु ।’

उहाँले आफ्नोसमेत धरातल देखिएको भन्दै नयाँलाई जनताले मत दिन्छ र उथलपुथल हुन्छ भने अपेक्षा राख्नु गलत भएको टिप्पणी गर्नुभएको छ । साथै उहाँले नयाँ किसिमको व्यवस्था नगरे ८४ मा पनि अहिलेको भन्दा फरक केहि नहुने दाबि गर्नुभएको छ । इलाम–२ मा जनमतका उम्मेदवार प्रेम कुमार थाम्सुहाङले ११८ मत प्राप्त गर्नुभएको थियो ।