जनता टाइम्स

१९ बैशाख २०८१, बुधबार १३:४०

उपनिर्वाचनले एमालेको लोकप्रियता प्रमाणित गर्यो : प्रदीप ज्ञवाली


बैतडी, १९ बैशाख । नेकपा एमालेका उप महासचिव तथा स्कुल बिभाग प्रमुख प्रदिप ज्ञवालीले इलाम र बझाङको उपनिर्वाचनले एमालेको लोकप्रियता प्रमाणित गरेको बताउनुभएको छ । पार्टीको तीन दिने कार्यकर्ता प्रशिक्षणका क्रममा बैतडी आउनु भएका ज्ञवालीले इलाममा बिजय कायम राख्नु र बझाङमा सिट थप्नुले एमालेको लोकप्रियता र राष्ट्रिय राजनीतिमा एमाले अपरिहार्य रैछ भन्ने प्रमाणित भएको बताउनुभएको हो ।

उहाँले यो उपनिर्वाचनले नयाँ हौँ भन्नेहरु र राजा ल्याउछौं भन्नेहरुको अवस्था पनि थाहा भएको बताउनुभयो । ‘इलाम र बझाङको निर्वाचनले नयाँ हौँ भन्नेहरुको अवस्था पनि देखियो, राजा फर्काउछौं भन्नेहरुले हजार भोट पनि कटाउन सकेनन्,’ ज्ञवालीले भन्नुभयो । उहाँले पानी कति तातो चिसो छ भन्ने थाहा पाउन एउटा औला डुबाएर परिक्षण गर्दा थाहा हुने बताउँदै यो चुनावले एमालेको अवस्था थाहा भएको दाबी गर्नुभयो ।

कार्यकर्ताहरु माझ उहाँले यो चुनावले एमालेलाई उत्साहित बनाएको र यो उत्साहलाई पार्टी निर्माणमा लगाउनु पर्ने धारणा राख्नुभयो । नेता ज्ञवालीले एमालेलाई चुम्बक जस्तो बनाउने बताउँदै ‘जसका वरिपरि सबै सक्कली कम्युनिष्टहरु, सक्कली देशभक्तहरु टासिन आउने’ बताउनुभयो । नेता ज्ञवालीसँगै पार्टीका स्कुल बिभागका सचिव घनश्याम कोइराला, संगठन बिभाग प्रमुख कासीनाथ अधिकारी, पोलिटब्युरो सदस्य तथा सुदूरपश्चिमका पुर्व मुख्यमन्त्री राजेन्द्र रावल, पोलिट ब्युरो सदस्य निरु पाल लगायतका नेता बैतडी आइपुग्नुभएको छ ।