जनता टाइम्स

१९ बैशाख २०८१, बुधबार १५:३१

बिष्णु रिमालले सुनाए पार्टीको बटमलाइन : एमाले र कांग्रेसको सरकार बनाउन संभव छैन, आफ्नै सरकार ढालेर देउवालाई प्रधानमन्त्री बनाउन सकिन्न


काठमाडौं, बैशाख १९ । नेकपा एमालेले नेपाली कांग्रेससँग मिलेर सरकार गठन संभव नरहेको प्रष्ट बटमलाइन सुनाएको छ ।

एमाले उपमहासचिव बिष्णु रिमालले एमाले सहकार्य गरिरहेको सहकार्यलाई टुटाएर राजनीतिक र संबैधानिक रुपमै गलत बाटो समातेर कांग्रेसको सरकारमा जाने कुरा सोच्नै नसक्ने भन्दै यस्तो बटमलाइन सुनाउनु भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढलेपछि सवैभन्दा ठूलो दलको हिसावले नेपालीका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनु रहेको भन्दै रिमालले त्यस्तो अनुचित र अनैतिक काम एमालेले नगर्ने बताउनु भयो ।

‘अहिले एमाले र कांग्रेसको बीचमा नयाँ सरकार बन्दै बन्दैन । संबिधानले दिँदै दिँदैन । अहिले त एमालेले यो सहकार्य तोडने र नयाँ सरकार बनाउने भनेको त सिधै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने हो,’ रिमालले भन्नुभयो, ‘त्यस्तो काम एमालेले किन गर्छ र ? हामी सहकार्य गरिरहेको दलसँग सहकार्य टुटाएर नेपाली कांग्रेसको अल्पमतको सरकारमा किन जान्छ र सहयोगी भएर ? त्यो संभावना छैन । त्यस्तो अनैतिक काम त कस्ले गर्छ र राजनीतिमा ?’

उहाँले अहिलेको सरकार ढलेको अवस्थामा सरकारको नेतृत्व सिधै सवैभन्दा ठूलो दलमा जाने तथ्य पनि स्मरण गराउनु भयो ।

‘अव सरकार बन्नेको त अहिलको बहालवाला प्रधानमन्त्री नमान्न साथ अर्काे धारामा जान्छ, त्यस अनुसार अल्पमतको सरकार बन्छ । त्यो भन्दा बाहेक अर्काे सरकार बनाउने संबिधानले दिँदैन,’ रिमालले भन्नुभयो, ‘हामी सहकार्य गरिरहेको सहकार्यलाई टुटाएर कांग्रेसको अल्पमतको सरकारमा किन जान्छौं र ? सहयोगी भएर ? त्यो राजनीतिक र संबैधानिक हिसावमा नै गलत हो । यस्तो कल्पना नै नगरौं,’ रिमालको भनाई थियो ।