जनता टाइम्स

२१ बैशाख २०८१, शुक्रबार १७:३८

एमाले पर्साको अधिवेशनमा बिवाद, धाँधली गरिएको भन्दै निर्वाचन समितिमा तालाबन्दी


पर्सा, बैशाख २१ । नेकपा एमाले पर्साको उपाध्यक्षसहितका पदाधिकारी चयनका लागि शुक्रबार हुने भनिएको निर्वाचन विवादका कारण अवरुद्ध भएको छ।

उपाध्यक्ष, सचिव र दुई उपसचिव पदका लागि वीरगन्जको अनमोल पार्टी प्यालेसमा शुक्रबार बिहान ११ बजेदेखि मतदान प्रक्रिया सुरु हुने सूचना निर्वाचन समितिले जारी गरेको थियो। तर उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएका लालबाबु शेख पक्षधरले निर्वाचन प्रक्रियामा धाँधली गरिएको भन्दै निर्वाचन समितिको कोठामा तालाबन्दी गरिदिएको छ।

केही पालिकामा नियम मिचेर प्रतिनिधि छनौट गरिएको , जिल्ला सदस्यमा निर्विरोध निर्वाचित भइसकेका व्यक्तिले फेरि पदाधिकारीमा उम्मेदवारी दिएको , एक पक्षलाई जिताउने गरी निर्वाचन समिति नै लागेको भन्दै शेख पक्षधरले नाराबाजी गर्दै मतपत्र लगायतका कागजातहरू राखिएको निर्वाचन समितिको कोठामा ताल्चा लगाएको हो। जसका कारण बिहान ११ बजेदेखि नै सुरु हुने भनिएको मतदान अहिलेसम्म पनि सुरु हुन सकेको छैन।

शेखपक्षले तालाबन्दी गरेपछि विवाद मिलाउनका लागि एमालेका नेताहरू सत्कार होटलमा अहिले छलफलमा बसेका छन्। यता निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत भोजराज ढकालले भने निर्वाचन समितिको कोठामा तालाबन्दी नभएको बताउनु भयो । उहाँले १०÷१२ जनाको हुल बाँधेर आएको एक समूहले निर्वाचन रोक्नुस भन्दै होहल्ला गरेपछि आफैंले ताला लगाएर त्यहाँबाट निस्किएको बताउनु भएको छ ।

पार्टीको आन्तरिक निर्वाचन भएकाले यसलाई शान्तपूर्ण रुपमा सम्पन्न गराउने आफ्नो भूमिका रहेको पनि उहाँको भनाई छ । ‘नेताहरू छलफलमा बस्नु भएको छ। शायद केही समयमा मतदान प्रक्रिया सुरु हुन्छ होला।’ वैशाख १७ देखि सुरु एमालेको नवौं जिल्ला अधिवेशनले बिहीबार जिल्ला अध्यक्षमा डाक्टर विश्वम्भर शर्मालाई निर्विरोध चयन गरिसकेको छ। अध्यक्षमा शर्मा सर्वसम्मत चयन भए पनि उपाध्यक्षसहित चार पदाधिकारीको पदमा भने एकभन्दा बढीको उम्मेदवारी परेपछि शुक्रबार निर्वाचन हुन लागेको हो।

एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव पदका लागि शुक्रबार बिहान ११ बजेदेखि मतदान सुरु हुने निर्वाचन समितिले जनाएको थियो। उपाध्यक्ष पदमा मनोज गुप्ता र लालबाबु शेख, सचिव पदमा महेस दास र नवराज शर्मा, उपसचिव (खुल्ला)मा रामिकिशोर सिंह पराग, नविजान मियाँ अन्सारी र इमरान हुसेन तथा उपसचिव९महिला० मा सीतादेवी लामा र गीता देवी भण्डारीको उम्मेदवारी परेको छ।