जनता टाइम्स

२२ बैशाख २०८१, शनिबार २०:१०

रामेछाप–काठमाडौं पत्रकार समाजद्वारा एक दिने पत्रकारिता प्रशिक्षण कार्यक्रम सम्पन्न


काठमाडौं, २२ बैशाख । रामेछाप–काठमाडौं पत्रकार समाजले एक दिने पत्रकारिता प्रशिक्षण कार्यक्रम भव्यताको साथ सम्पन्न गरेको छ । विज्ञान र प्रविधिको द्रुततर विकाससंगै सञ्चार माध्यममा यसको बढदो प्रयोगले पछिल्ला समयमा भ्रामक सूचनाले समाजलाई दिग्भ्रमित बनाइरहेका छन् । यसबाट बच्न पत्रकारहरूले आफूलाई नवीकृत गर्दै लैजानु पर्छ भन्ने कुरालाई मनन गर्दै यो तालिमको आयोजना गरिएको उपाध्यक्ष यसिमा महतले जानकारी दिनुभयो ।

समाजको आयोजनामा ‘‘भ्रामक सूचना र तथ्य जाँच” सम्बन्धि एक दिने पत्रकारिता प्रशिक्षणले केही मात्रामा भए पनि रामेछापेली पत्रकारमा ‘तथ्य जाँच’ गर्ने क्षमताको ज्ञान अभिबृद्धी भएको समाजका अध्यक्ष दिपेन्द्र गुरुङले जानकारी दिनुभयो । कार्यक्रममा गृह मन्त्रालयका उपसचिव अमरदिप सुनुवारले यस प्रशिक्षणले भ्रामक सूचना बाट बच्न सघाउ पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘रामेछापलगायतका पत्रकार साथिहरूले यो एक दिने पत्रकारिता प्रशिक्षण कार्यक्रमा भ्रामक सूचना र तथ्य जाँच विषयमा तालिम लिनुभयो यसले पक्कै पनि पत्रकारितामा थप टेवा पुगेको विश्वास गर्दछु ।’

त्यस्तै समाजका सल्लाहकार एवं पत्रकार ज्ञानप्रसाद पौडेलले पत्रकारिता पेशा पढेर भन्दा गरेर बढी जानिने कुरा भएको बताउनुभयो । उहाँले पढेर ४० प्रतिशत जानिने भएपनि गरेर ६० प्रतिशत जानिने भन्दै अहिलेको नयाँ पुस्ता प्रविधिमा अब्बल रहेको पनि बताउनुभयो । उहाँले पत्रकार समाजलाई मिडिया क्याम्पियनको लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । प्रमुख प्रशिक्षक उमेश श्रेष्ठ (सालोक्य) ले दिनुभएको प्रशिक्षण कार्यक्रममा समाजका तर्फबाट सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाण–पत्र वितरण गरिएको अध्यक्ष गुरुङले बताउनुभयो ।